काठमाडौं। भारतले नेपाली भूमि कालापानी लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडक निर्माण गरेर त्यसको उदघाटन समेत गरेकोमा सर्वत्र विरोध भैरहेको छ।

यसक्रममा स्वयंसेवी रक्तदाताहरूको छाता संगठन नेपाल स्वयंसेवी रक्तदाता समाजले पनि विज्ञप्ति जारी गरेर विरोध जनाएको छ। समाजले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको कहरमा भारतले गरेको उक्त दादागिरीको व्यापक घोर विरोध जनाएको हो।

समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यव्दारा हस्ताक्षरित विज्ञप्तिमा हामी नेपाली सार्वभौम,अविभाज्य राष्ट्रका जिम्मेवार नागरिक भएको उल्लेख गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाज विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) बाट सिर्जित विषम् परिस्थितिको सामना गर्दै स्वयंसेवी तवरले देशभित्र सञ्चालित रक्त व्यवस्थापनको क्षेत्रमा अग्रणी भूमिका खेल्दै आईरहेका छौ भनेका छन् ।

हामी रगतदान गरि रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरू पीडित पक्षलाई आवश्यकतानुसार सेवा प्रदान गर्दै आइरहेका छौं भन्दै  देशको राष्ट्रिय अखण्डता,राष्ट्रिय स्वाधीनता माथि आँच पुर्याउने गतिविधि वा विदेशी हस्तक्षेप तथा विदेशी अतिक्रमण जो कोहिले गर्छन् भने त्यसको खुलेरै बिरोध गर्न पछि पर्नु हुन्न भनेर विरोध जनाएको छ।

नेपालको भूमि लिपुलेक–कालापानी हुँदै लिम्पियाधुरासम्म भारतले एकतर्फी सडक निर्माण गरिएको खबरले स्वयंसेवी रक्तदाताहरू स्तब्ध हुन पुगेको उल्लेख गरिएको छ। नेपाली भूमिमा बनाईएका सडक लगायत जे–जति संरचना छ, त्यसमा नेपाल सरकारको स्थलगत प्रशासनिक उपस्थिति जनाई कुटनैतिक समस्या समाधान नहुन्जेल त्यस्ता विवादिद स्थानमा पूर्णतः आवत जावत बन्द गरि वार्तामा अबिलम्ब बस्न नेपाल स्वयंसेवी रक्तदाता समाज बिशेष अनुरोध गर्दछौं भनिएको छ।


प्रकाशन मिति–२०७७ साल बैशाख २८ गते आइतवार ।