काठमाडौं। काठमाडौं महानगरपालिकामा १७ वटा घरको एकिकरण भएर एक रुपमा निर्माण भएको छ। भगवान स्वयम्भुनाथ स्तुप परिसरमा रहेका १७ वटा घरको एकिकरण भएर एक रुप अर्थात हाउस पुलिङ गरेर निर्माण संपन्न भएको हो।

विसं.२०७२ सालको भूकम्पले जीर्ण भएका बुद्धाचार्य परिवारका ती घरहरु घरधनीलाई हस्तान्तरण गरिएको छ। सोमबार काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले भवनको हस्तान्तरण गरेका छन्।

स्वयम्भु पुनर्निर्माण समितिका अध्यक्ष तथा काठमाडौं महानगरपालिका वडा नंबर १५ का वडा अध्यक्ष इश्वरमान डंगोलका अनुसार स्वयम्भुका पुजारीका रुपमा सदियौंदेखि बस्दै आएका बुद्धाचार्य परिवारका १७ घरसँगै कर्मराज महाविहार (गुम्बा) को पुननिर्माण २ वर्षमा सकाएर हस्तान्तरण गरिएको हो।

घरहरुलाई एकीकरण गरेर सञ्चालन गरिएको काठमाडौं महानगरको यो पहिलो योजना हो । पुरातत्व विभागसँगको समन्वयमा घरलाई एउटै शैलीमा तयार पारिएको छ । हाउस पुलिङ प्रणालीमा निर्माण भएका यो घर किनबेच हुँदैन। केवल पुस्ताहरुमा हक हस्तान्तरण मात्र हुन्छ।

यी १७ घरलाई एकीकरण गरेर महानगरले एउटै भवनको नक्सा स्वीकृत गरेको थियो । वडा नंबर १५ का सदस्य आनन्द गौतमकाअनुसार पुनर्निर्माणका लागि करिब १७ करोड लागत अनुमान गरिएको थियो। जसमध्ये १३ करोड ५२ लाख रुपैयाँमा पुनर्निर्माण सम्पन्न हुने चरणमा पुगेको हो। यो लागतमध्ये ३० प्रतिशत घरधनी र बाँकी १७ औं अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले व्यहोरेका हुन्। यसका लागि वडा र कर्मराज महाविहारबीच सम्झौता गरिएको थियो। पुनर्निर्माणको काम २०७५ पुस ३० गते थालनी गरिएको थियो ।
प्रकाशन मिति–२०७८ साल बैशाख १४ गते मंगलवार ।