काठमाडौं। नेपाली तथा नेपालभाषा गीत–संगीतका आधुनिक कालिन गायक स्वयम्भुराज शाक्य विलक्षण प्रतिभाशाली गायक हुन्। स्वयम्भुराज शाक्य काठमाडौं उपत्यकाको उज्ज्वल नक्षत्र तथा संगीत पुञ्ज नै हो ।

उपत्यकाको ललितपुरको हखाटोलमा जन्मिएका विलक्षण प्रतिभाशाली गायक शाक्यको जीवन कालमा तथा स्वर्गवास पश्चात पनि जति मूल्याँकन हुनुपर्नेमा त्यति हुन सकेको छैन्। काठमाडौं उपत्यकामा नै जन्मेका र अनि यही उपत्यकाका मौलिक गीत–संगीतलाई विश्वभर फैलाउन अहोरात्र क्रियाशील स्रष्टालाई काठमाडौं उपत्यकाले मूल्यांकन गर्न नसकेको निश्चित हो।

काठमाडौं वाहिर अनि प्रवासका कोही स्रष्टा वितेमा पहाड नै खसेजस्तो गर्ने व्यवहार निश्चित रुपमा निको नभएको यथार्थता धेरै स्रष्टाहरुको मनमा खटकिएकै छ। गत जेठ ११ गते ६४ बर्षको उमेरमा स्वर्गवास भएका गायक स्वयम्भुराज शाक्य कोरोनाको कारण स्वर्गवास भने भएका होइनन्।

गत वैशाख २६ गतेदेखि  विपि स्मृति अस्पतालमा उपचारार्थ रहेका गायक शाक्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको परिवारजनको ठहर रहेको छ। सांस्कृतिक संस्थान अर्थात राष्ट्रिय नाचघरमा लामो समय गायक पदको जागिरे जीवनवाट निवृत भएपश्चात नयाँ–नयाँ शैली र सृजनामा तल्लीन वरिष्ठ गायक शाक्य आफ्नै हखा टोलमा आयोजित एकल साँझको सफलता पछि अर्को एकल प्रस्तुतिको योजनामा भएतापनि त्यो पूरा हुन सकेन।

रेकर्डिङ सहज र सुलभ नभएको त्यो कठिन बेला एउटा कोठामा वाद्यवादक तथा गायक÷गायिका र अर्को कोठामा प्रविधि र प्राविधिकका साथ ३ दशक अघि नेपालभाषाको ‘मतिना’ रेकर्ड गराएका थिए । नेपालको सांगीतिक विकासमा कोशेढुंगाका रुपमा लिइने यस गीति संग्रहमा संग्रहित उनका सबै गीतहरु हालसम्म पनि जनजिब्रोमा झुण्डिएको छ ।

रेडियो नेपालका समेत विशिष्ट श्रेणीका गायक शाक्य विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित पनि बनेका थिए। शाक्यले तिब्बत, श्रीलंका, बंगलादेश, साउदी अरेबिया, जापान, हङकङ, बैंङ्ककमा सांगीतिक प्रस्तुति दिएको कतिपयलाई जानकारी पनि छैन्। ५ वटा गीति संग्रहसहित २५० भन्दा बढी गीत गाएका वरिष्ठ गायक शाक्यले ४ वटा एकल शोहरु समेत गरिसकेको पारिवारिक समाचार स्रोतको भनाइ छ।

भगवान बुद्धका बुद्ध भजन गायनमा अब्बल गायकका रुपमा नै रहेका गायक शाक्यका दर्जनौ नेपाली हिट गीत पनि रहेका छन्। गीत गायनमा अत्यन्त उत्साही अनि अरुलाई पनि प्रोत्साहन दिने गायक शाक्यको योगदानको कदर जति हुनुपर्ने त्यो नभएको अग्रज स्रष्टाहरुको गुनासो रहेको छ।

त्यसमाथि, काठमाडौं उपत्यकावासी गायकको उपत्यकामा नै खास मूल्यांकन हुन नसक्नु दुःखद कुरा भएको छ। मुलुकले नै सम्मान गर्नुपर्ने विलक्षण प्रतिभाका धनी गायक शाक्यजस्ता स्रष्टाहरुको सही मूल्यांकन हुनु अत्यन्त आवश्यक छ।

प्रकाशन मिति–२०७८ साल जेठ २१ गते शुक्रवार ।