काठमाडौंको स्वयम्भूमा गोली चलेको छ। महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले लोपचन भनिने मिलन लामामाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको महानगरीय प्रहरी बृत स्वयम्भूले जनाएको छ।

मिलन लामालाई पक्राउ गर्ने क्रममा गोली चलाउनु परेको महानगरीय अपराध महाशाखा प्रमुख शहकुल थापाको भनाई रहेको छ। स्वयम्भूको विजेश्वरीस्थित झिँगु क्याफेबाट मिलन लामालाई प्रकाउ गर्ने क्रममा प्रहरीले गोली प्रहार गरेको हो। प्रहरीका अनुसार मिलनको वास्तविक नाम बाबुराम तामाङ हो।

रामेछाप लिखु गाउँपालिका ७ स्थायी घर भएका लामालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि घुँडामुनी दुई गोली हानेर नियन्त्रणमा लिइएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

प्रहरीका अनुसार, ३० वर्षीय लामाले पछिल्लो समय रामेछापको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कालाई २ करोड नदिए छोराछोरी तथा सम्पूर्ण परिवारलाई मारिदिने धम्की दिएका थिए। त्यस्तै उनका सहयोगी २५ वर्षीय अमृत तामाङलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते लामाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रकाशन मिति–२०७६ साल साउन २४ गते शुक्रवार ।