ललितपुर। नेपालका ख्यातिप्राप्त वरिष्ठ गायक स्वयम्भूराज शाक्यको एकल सांगीतिक प्रस्तुति ‘जुजु वेयर्स ओ प्रिय लिफः स्वयाः’सम्पन्न भएको छ। रेकर्डिङ सहज र सुलभ नभएको बेला एउटा कोठामा वाद्यवादक तथा गायक, गायिका र अर्को कोठामा प्रविधि र प्राविधिक बसेर रेकर्ड गरिएको गीत ‘ओ प्रिय लिफः स्वयाः’ निकै लोकप्रिय गीत हो।

गायक शाक्यले सपनाश्रीका साथमा ३ दशक अघि गाएको यही गीतबाट यस कार्यक्रमको नामांकरण भएको हो। दर्शकको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम ३ दशकको अवधिमा सृजना भएका १४ वटा लोकप्रिय गीतहरु प्रस्तुत भए। नेपालभाषाका रतन, जिके नं भतिचा माया, छं मुसुं न्हिला स्वःसा, अय् मयजु थन छकः स्व, मुसुक्क न्हिला हुँ, भिंंद्यः गुथियागु मूसःगु अय्ला, ओ प्रिय लिफः स्वयाः, घण्टाघरया क्वय्, वया ला छ थन माया मदुम्ह, जात्राया हुलय्, मिलेजूम्ह पासाया इहिपाया भ्वय् गीत सुनाएका थिए भने रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेपछि रेकर्ड भएको पहिलो गीत “तिमीलाई मैले चिनेर पनि” तथा सुगम संगीतको स्वर्ण युगको स्मरण एवं समर्पण गर्दै प्रेमध्वज प्रधान र उषा मंगेशकरले गाएको किरण खरेलको शब्द र जयदेवको संगीत रहेको माइतीघर चलचित्रको “नमान लाज”, नारायण गोपालको जीवनय् गुबलें छकःसां गीत पनि गायक शाक्यले सुनाएका थिए।

कार्यक्रममा गायक शाक्यलाई गायिका संगीता शाक्य, निशा देसार र गायक सुमन कपाली र चन्द्रमान शाक्यले साथ दिए भने वाद्यवादनमा भूपेन्द्र बज्राचार्यको संयोजनमा अनुप दास, ज्योति घिमिरे, रविन कार्कीढली, लक्ष्मी डंगोल, गौतम श्रेष्ठ, तेज श्रेष्ठ,, सम्पूर्ण लामा, इन्द्रमान सिँहको साथ रहेको थियो। सांगीतिक प्रस्तुतिमा दुर्गालाल श्रेष्ठ, किरण खरेल, वंशीधर बज्राचार्य, शक्तिमोहन पराजित, शाक्य सुरेन, चन्द्रमान शाक्य, तीर्थ माली, शान्त शाक्य, किर्ति श्यामसुन्दर जोशी, निर्मलरत्न शाक्य, नील शाक्य, राजेशमान सिंह, अमर चित्रकारद्वारा रचित तथा गायक शाक्यका साथै विजयसिँह मुनाल, तीर्थ माली, श्यामसुन्दर जोशी, चन्द्रमान शाक्य, विरेन शाक्य, इन्द्र ब्यञ्जनकार, सुमन कपाली, राजेशमान सिंहले संगीत भरेका गीतहरु गुञ्जिए।

मंगल इन्टरटेनमेन्ट (लिटिल स्टार रेकर्डस्) को आयोजनामा गायक शाक्यको जन्म टोल ललितपुरस्थित हःखामा भएको कार्यक्रम मदन थापाको मयूर नृत्यबाट शुरु भएको थियो भने गायक ज्योति घिमिरे, गायिकाहरु अनु शाक्य र प्रियंका शाक्यले पनि गीत सुनाएका थिए।
प्रकाशन मिति–२०७६ साल जेठ २७ गते सोमवार ।