पाटन । कथा हरेक भाषाको साहित्यमा सर्वोत्कृष्ट विधाको रुपमा मानिन्छ। कथा मात्र होइन, हिजोआज लघुकथा पनि कथा जतिकै लोकप्रिय र उत्कृष्ट बन्दैगएको पाइन्छ। कथाजस्तो लघुकथामा धितमरुञ्जेलको स्वाद नपाउने भएतापनि खानामा अचार जतिको चट्ट हुने गर्दछ।

त्यसरी नै लघुकथाले साहित्यमा गजबको स्वाद दिने गरेको छ। त्यस्तै स्वाद नेपालभाषा साहित्यमा पनि दिनानुदिन विकास हुंदैआएको छ। सः छगू फरक अभिव्यक्ति नामक संस्थाको आयोजनामा चिबाखं वाचन अर्थात लघुकथा वाचन कार्यक्रमले यसलाई पुट दिदैआएको छ।

कलाको शहर पाटनको इखालखुः तलाछेँ स्थित दबू नेवाः नखाछेँमा १४ औं लघुकथा वाचन संपन्न भएको छ। झरीपछिको पारिलो अनि न्यानो घामको आँगनीमा नेपालभाषाका तीन धुरुन्धर साहित्यकारहरु निर्मल बज्राचार्य, बसन्त नकर्मी र दिलकुमारी डंगोलका तीन चरणका पाँच–पाँच लघुकथा सुन्ने र हेर्ने स्रोता तथा दर्शकले शनिवार मज्जा माने।

उनीहरु ती तीन स्रष्टाका लघुकथामा यथार्थता खोज्दै कथा अनि पात्रको मर्म बुझ्न व्यस्त बनेका थिए। कसैलाई पनि पत्यार लागेको थिएन। अझ भनौं झर्को भन्ने शव्द नै त्यहाँ पसेको थिएन। झरिलो झरनाको तरंगमा रम्दै आकाशमा बाजले मज्जाले कौवा खांदैगरेको अनौठो अवस्थाको सिर्जना गरेको थियो।

त्यो न्यानो निश्पट्ट रमाइलो वातावरणलाई तीन लघुकथाकारहरुले आफ्नै शैली तथा सोचले फरक सीपको भरमग्दुर प्रयोग गर्ने कार्य भएको थियो। त्यसमाथि, लघुकथाकार निर्मल बज्राचार्यले त लघुकथामा ध्वनी समिश्रणको प्रयोग गरेर कथामा नविनता दिने गजबको प्रयास भएको पाइयो।

तीन स्रष्टाको सिर्जनामार्थि टिप्पणी गर्ने कार्य नेपालभाषाका बरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीवाट भएको थियो ।अर्कोतर्फ कार्यक्रमको स्रोतव्यक्ति समाश्री महर्जनको सबलीकरणमूलक उदघोषणले कार्यक्रमलाई सबलीकरण गर्न सक्षम भएको थियो।
प्रकाशन मिति–२०७६ साल माघ ५ गते आइतवार ।