काठमाडौं। दिगो विकासको लक्ष्य अपाङ्गत मैत्री भविष्य नारा वोकेको २८ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइएको छ।

यसै सन्दर्भमा काठमाडौंको गोकर्ण–४ स्थित बौद्धिक अपाङ्गता भएकाहरुको संरक्षण संस्था स्वस्थ समाज नेपालले पनि बृहत कार्यक्रम गरेर अन्तरराष्ट्रिय अपाङ्गता दिवस मनाएको हो। पाटीचौर स्थित गोकर्ण माध्यमिक विद्यालयको प्रांगणवाट प्रभातफेरि गरेर शुभारम्भ भएको कार्यक्रमको समापन पनि सोही विद्यालयमा भएको थियो।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा अपाङ्ग बाल टेवा संस्थाका डेन्डी शेर्पावाट अपाङ्गता भएका बालबालिकालाई व्हीलचियर वितरण गर्ने कार्य पनि भएको थियो।

अन्तरराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुव्दारा अपाङ्गताको समस्या तथा यसको अवधारणाका विषयमा विशेष जोड दिएका थिए। आयोजक स्वस्थ समाज नेपालको अलावा उत्तरगया सशक्तिकरण समूह, प्रेरणात्मक महिला समूह लगायतका विभिन्न संघ–संस्थाहरुको पनि विशेष सहभागिता रहेको थियो।


प्रकाशन मिति–२०७६ साल मंसीर १७ गते मंगलवार ।