काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ७ः४५ बजे जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमित पुष्टिको विवरण दोहोरिएको छ। मन्त्रालयले अघिल्लै दिन संक्रमितको सूचीमा परिसकेका धनुषा, महोत्तरी र सर्लाहीका पाँच जनालाई दोहोर्‍याएर सूचीमा समेट्दा विवरण गंभीर त्रुटिपूर्ण हुन पुगेको हो।

धनुषामा २, महोत्तरीमा २ र सर्लाहीमा १ गरी ५ जनामा कोरोना संक्रमण भएको पुष्टि मन्त्रालयले मंगलबार नै गरिसकेको थियो। आज बिहीबार मन्त्रालयले तीनवटै जिल्लाका उही व्यक्तिलाई ठाउँमात्रै खुलाएर ५ जनामा थप संक्रमण देखिएको विज्ञप्ति निकालेको छ। जिल्लामा कोरोना संक्रमणको संख्या थपिएको नभई मन्त्रालयको सूचनामा त्रुटि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कान्तिपुर दैनिकको अनलाइन संस्करणलाई बताएका छन्।

जिल्लाका फोकल पर्सन गिरेन्द्र झाले पनि जिल्लामा नयाँ व्यक्ति नथपिएका र मन्त्रालयको सूचना त्रुटिपूर्ण भएको बताएको कान्तिपुरले उल्लेख गरेको छ। महोत्तरीमा संक्रमितको संख्या ४ पुग्यो भन्दै आएका समाचार भ्रमपूर्ण रहेको पनि झाले भनेका छन्।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीेले पनि प्रेस विज्ञप्ति नै जारी गरी त्रुटि भएको स्वीकार गरेका छन्। डा.अधिकारीले कुल संक्रमितको संख्या २५० नभइकन २४५ नै रहेको स्पष्ट पारेका छन्।


प्रकाशन मिति–२०७७ साल जेठ १ गते विहीवार ।