काठमाडौं। बर्षा र सहकालका देवता मानिएको सेतो मच्छेन्द्रनाथको रथयात्रा शुरु भएको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलवारवाट शुरु भएको हो।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि काठमाडौंको दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ। शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ। असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ।

रथयात्राका लागि दिउँसो ४ बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि ल्याइएको थियो। जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ। जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको जनाएको छ।

एकदिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको छ । यसका लागि तीन रङको ज्याकेटको व्यवस्था गरिएको छ । जसले कोरोना सर्नबाट बच्न सकिने आशा गरिएको छ । कोरोना महामारीबाट बच्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो ।

यो नमूना उपत्यकाका अन्य स्थानमा हुने जात्राका लागि पनि काम लाग्ने आशा गरिएको छ। दरवारमार्गवाट तानिएको मच्छेन्द्रनाथको रथ आज मंगलवार पहिलो दिन असनमा पुर्याएको छ।
प्रकाशन मिति–२०७८ साल बैशाख ७ गते मंगलवार ।