लण्डन। बेलायतले हङकङका नागरिकहरुका लागि नागरिकता लिन विशेष आवेदन खुलाउने भएको छ। सन् २०२१ देखि बेलायत सरकारले उनीहरुलाई नागरिकता ग्रहण गर्नका लागि आवेदन खुलाउने बुधबार घोषणा गरिएको हो।

हङकङमा चीनले नयाँ राष्ट्रिय सुरक्षा नीति लागु गरेपछि बेलायतले पनि आफ्नो अध्यागमन नीति परिवर्तन गर्दै त्यहाँका नागरिकलाई बेलायती नागरिकता दिने जनाएको हो। तर बेलायतको यस्तो प्रस्तावप्रति चीनले आपत्ति जनाउँदैआएको छ। चिनियाँ अधिकारीहरुले बेलायतको यस्तो कदमको विरोध गर्दै हङकङका नागरिक चिनियाँ नै भएको जनाएका छन्।

‘बेलायत र हङकङका जनताबीच बलियो ऐतिहासिक सम्बन्ध छ। र हामी उनीहरुको स्वतन्त्रताको पक्षमा बोलेको बाचा पूरा गर्छौँ,’ बेलायती गृहमन्त्री प्रिती पटेलले बताएकी छन्। हङकङका नागरिकका लागि बेलायतले ल्याएको नयाँ नीति अनुसार नयाँ प्याकेज मार्फत बेलायत आउने हङकङका नागरिकले बेलायतमा ५ वर्ष बसेपछि स्थायी बसोबासका लागि आवेदन दिन पाउनेछन्।

त्यसपछि थप १२ महिनापछि उनीहरुले ब्रिटिश नागरिकताको लागि आवेदन दिन पाउनेछन्। बेलायती उपनिवेशमा रहेको हङकङ सन् १९९७ मा एक देश दुई नीति अन्तर्गत रहने गरी चीन मातहत पुगेको थियो। यो देश अहिले पनि चीनसँग एक देश, दुई नीति अनुसार सञ्चालन हुँदैआएको छ।

पछिल्लो समय हङकङमा राजनीतिक अस्थिरतासँगै अमेरिकी प्रभाव पनि बढ्न थालेको छ। यस्तैमा चीनले हङकङमाथि नयाँ कानुन लागु गराउँदै पृथकतावादी माग उठाउन बन्देज लगाएको छ।
प्रकाशन मिति–२०७७ साल साउन ८ गते विहीवार ।