काठमाडौं। हङकङमा रहेका नेपाली उस्ताद कृष्णभक्त महर्जन उस्ताद मात्र नभइकन दानबीर पनि बनेका छन्। उस्ताद महर्जनले हङकङमा कमाएका केही रकम नेपालमा बारम्बार खर्चिने गरेको कारण महर्जनलाई उस्तादको अलावा दानबीर पनि भनिएको हो।

बेला–बखतमा नेपालमा कसैलाई आपत–विपत पर्दा थोरबहुत भएतापनि हङकङवाट सहयोग गर्ने कार्य गर्दैआएका छन्। केही दिनअघिमात्र नेपालभाषा तथा नेपाली संगीतका अग्रज नक्षत्र भृगुराम श्रेष्ठको अशक्तताको खवर सुपरस्टार हिरो रुपेन्द्र श्रेष्ठ मार्फत खवर पाएपछि रुपेन्द्र मार्फत नगद २० हजार सहयोग गरेका छन्।

त्यसैगरेर, त्यसअघि नेपालभाषा तथा नेपाली कलाक्षेत्रका बहुमुखी प्रतिभाका धनी स्वतन्त्र संसार महर्जनको उपचार्थ नगद ३० हजार रकम सहयोग गरेका हुन्। महर्जनको जन्मस्थान ललितपुरको सुनाकोठी देखि हरिसिद्धिसम्मका विभिन्न पाटीपौवा निर्माण गर्न सहयोग गर्ने कार्य भएको छ। पूर्वीनेपालको इटहरी भ्रमणका क्रममा त्यहाँको एक संगीतालयलाई पनि सहयोग गर्ने कार्य भएको हो।

धेरै ठाउंमा धेरैपल्ट सहयोग गर्ने गरेको बताउने महर्जन आफूसंग कुबेरसंग जस्तो पर्याप्त धन भएर नभइकन मन भएर गरेको बताउंछन्। सानैदेखि सहयोग गर्ने वानी भएको कारण कसैको दुःख देख्न नसक्ने नेचरको कारण पनि परदेशमा रहंदा पनि स्वदेशमा सहयोग गर्दैआएको महर्जनको भनाई छ।


प्रकाशन मिति–२०७६ साल असोज २५ गते शनिवार ।