काठमाडौं। नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा दोश्रो नेपाल इन्टरनेशनल फिल्म फेस्टिबल २०१९ हुने भएको छ। विहीवार आयोजित फेस्टिबल स्वीच–अन कार्यक्रममा आगामी फरवरी २१ देखि २५ सम्म पाँच दिन काठमाडौंमा नेपाल इन्टरनेशनल फिल्म फेस्टिबल हुने भनेको हो।

काठमाडौंको भृकुटीमण्डप स्थित नेपाल पर्यटन वोर्डमा आयोजित कार्यक्रममा नेपाली चलचित्रका अग्रज चलचित्रकर्मी यादव खरेलले फेस्टिबलको स्वीचअन गरेर शुभारम्भको उदघोष गरिएको थियो।

शुभारम्भ कार्यक्रममा अर्का नेपाली चलचित्रका अग्रज चलचित्रकर्मी नीर शाह, चलचित्र सेन्सर वोर्डका सदस्य सुभाष गजुरेल, चलचित्र निर्देशक दयाराम दाहालको प्रमुख आतिथ्यता रहेको थियो।

आयोजक संस्थाका अध्यक्ष के.पी. पाठकको सभाअध्यक्षतामा सम्पन्न फेस्टिबलको स्वीचअन कार्यक्रमम आयोजक संस्थाका उपाध्यक्ष विजयरत्न तुलाधरले स्वागत भाषण गर्दै फेस्टिबलको महत्व र आवश्यकताको बारेमा प्रकाश पारेका थिए।

आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले भिजन संसार डटकमलाई दिएको जानकारी अनुसार, यो बर्ष यस फेस्टिबलमा विश्वका ३१ राष्ट्रका ५९ वटा फिल्म छनौटमा परेका छन्। नेपालवाट भने १६ वटा फिल्म छनौटमा परेको अध्यक्ष पाठकको भनाई रहेको छ।

फेस्टिबलमा सहभागी फिल्महरु मध्ये राष्ट्रिय तथा अन्तरराष्ट्रिय फिल्म जगतका ख्यातिप्राप्त चलचित्र विज्ञहरु सम्मलित निर्णायक मण्डलवाट मूल्यांकन हुने भएको छ। जसमा १ हजार डलरको नगद पुरस्कार तथा ट्रफी लगायत थुप्रै नगद पुरस्कारहरु राखिएको छ।

फेस्टिबलको सहआयोजक काठमाडौं महानगरपालिका तथा प्रमोटर चलचित्र विकास वोर्ड नेपाल र नेपाल पर्यटन वोर्ड रहेको छ। पांच दिने नेपाल इन्टरनेशनल फिल्म फेस्टिबल काठमाडौं राष्ट्रिय सभागृहको हल तथा पर्यटन वोर्डको हलम एकसाथ हुने भएको छ।

यसअघि गत बर्ष पहिलो पल्ट यस फेस्टिबल पोखरामा भएको मिडिया कोर्डिनेटर समेत रहेका अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधरले भिजन संसार डटकमलाई बताएका छन्।

प्रकाशन मिति–२०७५ साल माघ ३ गते विहीवार।