काठमाडौ। खानपिनको गलत चयन र आवश्यकताभन्दा बढी तनावले मुटुसम्बन्धी रोगका बिरामीको संख्या बृद्धि भैरहेको छ। नियमित शारीरिक व्यायामको अभावमा समेत मुटु रोगले च्याप्नेहरुको संख्या बढ्दो रहेको छ।

मुटु मांसपेसीले बनेको एक अंग हो। जसले शरीरको विभिन्न अंगमा रगत पम्प गरेर पठाउँछ। मुटुको रगत प्रवाह गर्ने धमनीमा जब अवरोध आउँछ जहाँ रक्तसञ्चार रोकिन्छ त्यहाँको मांसपेशी मर्न थाल्छ। त्यसले मुटुको काम गर्ने प्रक्रियामा अवरोध पु-याउँछ र हर्ट एटेक्ट हुन्छ।

मुटु रोग लाग्ने निश्चित उमेर समूह हुन्न। जुनसुकै उमेर समूहका व्यक्ति यसबाट प्रभावित हुन सक्छन्। उमेरअनुसारका लक्षण समेत हुन्छन् नै। यसबाट जोगिनका लागि सबैभन्दा पहिला ध्यान दिनुपर्ने विषय बानीव्यहोरा नै हो। बानीमा सुधार गरे मुटुरोगबाट बच्न सकिन्छ।

कोलस्टोर र मुटुको सम्बन्ध निकट हुने भएकाले यसको नियन्त्रण आवश्यक छ। कोलस्टोर बढेमा त्यसले मुटुमा असर पार्छ । हाई ब्लड प्रेसर छ भने पनि नियमित औषधि सेवन गर्ने खानपिनमा ध्यान दिने र नियमित एक्सरसाइज गर्नुपर्छ। यसले हर्ट एटेक्टको जोखिम कम गर्छ।

हर्ट एटेक्टको अर्को कारण धूमपान पनि हो। रोमको सेन फिलिप्पो नेरी अस्पतालको फ्यूरियो कोलिबिच्चीको अनुसन्धानमा हर्ट एटेक्टपछि पनि जसले धूमपान जारी राख्छ उसलाई पुनः हर्ट एटेक्टको जोमिख उच्च हुने उल्लेख छ।

हर्ट एटेक्टको जोखिम कम गर्न आफ्नो तौलसमेत नियन्त्रणमा राख्न आवश्यक छ। मोटोपनासँगै बढ्ने बोसोले रक्त प्रवाहलाई प्रभावित गर्नसक्छ। आफ्नो लम्बाई र उमेरको आधारमा आवश्यक तौल पहिल्याएर तौल नियन्त्रणमा राख्नु बुद्धिमानी हो ।

हर्ट एटेक्टको अर्को कारक सुगर पनि हो। सुगरको रोगीले सुगरको मात्रा नियन्त्रणमा राख्न आवश्यक छ।
अर्को महत्वपूर्ण पाटो खानपिन हो। अत्यधिक चिल्लो खाना, ड्राइफुडको नियमित सेवनले समेत हृदयाघातको जोखिम बढाउँछ। भिटामिन ई, मैगनिसियम, फाइवर, पोटासियम रहेको खानेकुरा खाने हो भने यसले हृदयाघातको जोखिम कम गराउँछ। तारेको खानेकुरा र नुनको मात्रा जति कम गर्नसक्यो उति उत्तम हुन्छ।

तरकारीलगायतका तेल प्रयोग हुने खाना पकाउँदा जैतुनको तेलको चयन राम्रो मानिन्छ। सकेसम्म थोरै तेलको प्रयोग मुटुको आयु बढाउन फाइदाजनक हुन्छ। सबैभन्दा महत्वपूर्ण पक्ष नियमित एक्सरसाइज नै हो। पसिना निस्कने गरी आधादेखि एक घण्टा नियमित एक्सरसाइज गर्दा त्यसले रक्त प्रवाहलाई सहज बनाउँछ। मोटोपना कम गर्छ। आयु बढाउँछ।

प्रायः गम्भीर अवस्थामा पुग्नुभन्दा अगाडि नै मुटुरोग छ या छैन भनेर पत्ता लगाउन सकिन्छ। परीक्षणमा लक्षण देखिए तत्काल उपचार गरेर गम्भीर अवस्था आउनु अगाडि नै नियन्त्रण गर्न सकिन्छ। रोग छिप्पिए उपचार कठिन र महँगोसमेत हुन्छ।
छाति दुख्ने, ढक्क फुल्ने, छातिमा बेचैनी हुने, भारीपन महसुस हुने जस्ता संकेत देखिए तत्काल अस्पताल गएर जचाउनु उत्तम हुन्छ। सास फेर्न कठिन भयो, केही बेर हिँड्दैमा अप्ठेरो हुने, चाडै गल्नेजस्ता लक्षण छ भने चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ।

हात झमझमाउने, शरीरको कुनै भाग काँध, हात वा गर्धनको पछिल्लो भागले काम गर्न छाड्या, छुँदा थाहा नहुने भयो भने समेत चिकित्सकको सल्लाह लिनु आवश्यक छ। मुटुको चालको परीक्षण बेलाबखत गरिरहनुपर्छ। सामान्यतया स्वस्थ मुटु एक मिनेटमा ६० देखि एक सय पटकसम्म धड्कन्छ । यसमा तलमाथि भयो भने जचाउनुपर्छ ।

लक्षण
-मुटुको चाल बढेको अनुभव हुन्छ ।
-रिंगटाले गर्दा बेहोस पनि हुन्छन् ।
-छाती दुखेको अनुभव हुन्छ ।
-सास फेर्न गाह्रो हुन्छ ।

कारण
– हर्ट एटेक्टपछि मुटुको चालमा हुने गडबडी ।
– जन्मजात ।
– मुटुको संक्रमण ।
-उमेरजन्य कारण ।

जोगिने उपाय
– नियमित व्यायाम
– चिल्लो र नुन कम खाने
– धूमपान र मध्यपान नगर्ने,
– रक्तचापलाई नियन्त्रणमा राख्ने,
– सुगर कन्ट्रोल गर्ने
– मोटोपन कम गर्ने
प्रकाशन मिति–२०७५ साल साउन २४ गते विहीवार ।