काठमाडौं। नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा नेपाली गीत गायनमा हट गायिकाको उपमा पाएकी गायिका सहिमा श्रेष्ठले तीज गीत लिएर आएकी छन्। गायिका श्रेष्ठको हर हर महादेव बोलको तीज गीत सार्वजनिक भएको हो।

गीतमा चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत र अमर वान्तुले शब्द सृजेका छन्। कृष्ण पुनको एरेञ्ज रहेको गीतको भिडियोमा अभिनेत्री नीता ढुंगानाको प्रमुख फिचरिङ रहेको छ। उनीसँगै गायिका श्रेष्ठले पनि गीतमा ठुम्का लगाएकी छन्। सुयोग्य पति माग्दै हरेक वर्ष तिजमा व्रत बसेको युवतीको कथा गीतमा उतारिएको छ। गीतको भिडियोमा अभिनेत्री पवित्रा आचार्यको एक्सन कट छ भने उनकै कोरियोग्राफी रहेको छ।

शनिवार नै तीज गीतसँगै आधुनिक गीति संग्रह अमर भावना २ को विमोचन गरिएको थियो। कार्यक्रममा उक्त एल्बममा समावेश एक आधुनिक गीतको भिडियो समेत देखाईएको थियो । हाल तीज गीतलाई मात्र इन्टरनेटमा रिलीज गरिएको छ भने आधुनिक गीत भने केही दिनमा सार्वजनिक गरिने बताईएको छ।

बसन्त निरौलाको निर्देशन तथा पवित्रा आचार्यको कोरियोग्राफी रहेको तिम्रो शहर बोलको गीतमा गायिका सहिमा श्रेष्ठको स्वर तथा दिपक शर्माको संगीत छ भने गीतकार अमर वान्तुका शब्द छन् । गीतको भिडियोमा नायक अनुप बिक्रम शाही र नायिका आँचल शर्माको अभिनय रहेको छ।

विमोचन समारोहमा पूर्वमन्त्री एवं गीतकार एसपी कोईराला प्रमुख अतिथी थिए भने बरिष्ठ गीतकार राजेन्द्र थापा, चलचित्र निर्देशक दिपाश्री निरौला लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।

प्रकाशन मिति–२०७६ साल साउन १२ गते आइतवार ।