काठमाडौं। नेपाली चलचित्र क्षेत्रको हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार तथा परिवर्तन सम्मान –२०७५ सम्पन्न भएको छ। सोमवार काठमाडौंको बागबजार स्थित हार्दिक होटलमा आयोजित कार्यक्रममा यी तीन पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।

जनही नगद २५ हजारसहितको हरितारा चलचित्र पुरस्कारवाट बरिष्ठ अभिनेता लय संग्रौला र अभिनेत्री रेखा थापालाई पुरस्कृत गरिएको छ। त्यसैगरि परिवर्तन नेपालले गतसाल देखि स्थापना गरेको जनही नगद १० हजार राशीको श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार–२०७५ वाट अभिनेता उत्तम केसी र नेपालभाषाका प्रथम चलचित्र पत्रकार तथा नेपाली चलचित्रका बरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई संयुक्त रुपमा प्रदान गरियो।

अभिनेतातथा निर्देशक रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोभिता सिंखडालाई परिवर्तन सम्मान २०७५ बाट सम्मान गरिएको छ । पुरस्कार तथा सम्मान छनोट समितिमा लेखक/निर्देशक मोहन निरौला, कला–डिजाइनर सुन्दर श्रेष्ठ तथा वरिष्ठ चलचित्र पत्रकार/गीतकार शान्तिप्रिय रहेका थिए।

हरितारा पुरस्कारका संरक्षक मनोज शम्शेर ज.ब.रा.का सुपुत्री द्वय मायांका राणा तथा माहिका राणाको सभापतित्वमा पुरस्कार वितरण संपन्न भएको थियो। हरितारा चलचित्र पुरस्कारका सदस्य सचिव तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले पुरस्कारको परिचय तथा स्वागत मन्तव्य राखेका थिए।

प्रकाशन मिति–२०७५ साल मंसीर १८ गते मंगलवार ।