काठमाडौं। ख्यातिप्राप्त वरिष्ठ हाँस्य अभिनेता हरिवंश आचार्यको बुलन्द गायन रहेको चेलीबेटी बेचबिखनलाई विरुद्धको विलकुलै नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ । बिहीबार बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वागमति प्रदेशको पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला र नेपाल प्रहरीका महानिरिक्षक शैलेश थापाले एकसाथ हरिवंश आचार्यको गायन रहेको उक्त बुलन्द गीतको विमोचन गरेपछि सार्वजनिक भएको हो ।

सार्वजनिक भएको गीतमा सार्वजनिक स्थलमा महिलामाथि हुने यौन दुर्व्यवहार र चेलिबेटी बेचबिखनको कथालाई भिडियोमा यथार्थपरक ढंगवाट प्रस्तुत गरिएको छ। चलचित्रको कथावस्तुमा पाँच मिनेटमा सवै कुरालाई यथार्थरुपमा प्रस्तुत गरेर त्यसको समाधान खोज्ने कार्य पनि गीतको भिडियोमा भएको छ । जुन अत्यन्त सबल पक्षको रुपमा लिन सकिन्छ ।

गीत सार्वजनिक भएयता ख्यातिप्राप्त कलाकार तथा गायक हरिवंश आचार्यले चेलिबेटी बेचबिखनको विषयमा यसअघि केही टेलिचलचित्र निर्माण गरेको स्मरण गर्दै गीतमा भने पहिलो पटक यो विषय उठाएको खुलासा गरेका छन्। गीतले चेलिबेटी बेचबिखनलाई रोक्न भूमिका खेल्ने ठहर हरिवंशका जोडी ख्यातिप्राप्त हास्य अभिनेता मदनकृष्ण श्रेष्ठले बताएका छन्।

गीतको भिडियोमा हरिवंश आचार्यका साथमा नायिका स्वस्तिमा खड्का, श्याम पाण्डे, महेश त्रिपाठी, नवीन लम्साल, रुक्मिला अधिकारी र विमल खड्काको अभिनय रहेको छ। हरिबंश आचार्यको आफ्नै शब्द र स्वरले भरिएको गीतमा किरण तुलाधरको संगीत संयोजन रहेको छ । निर्देशन मानव सुवेदीले निर्देशन गरेका छन्। सुशील सापकोटाको छायांकन र सुरक्षा पन्तको पटकथामा भिडियो निर्माण गरिएको जानकारी पनि हरिबंश आचार्यले दिएका छन्।

प्रकाशन मिति–२०७८ साल पुस २९ गते विहीवार ।