ललितपुर। ललितपुर महानगरपालिका वडा– १६ को आयोजनामा यही चैत्र १३ गतेदेखि हुने बृहत कला र सांस्कृतिक महोत्सव हुने पुगेको छ। वल्र्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई ३५ औं हस्तकला नगरी घोषणा भएको अवसरमा ललितपुर महानगरपालिका– १६ ले बृहत कला तथा सांस्कृतिक महोत्सव आयोजना गर्न लागेको हो।

विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरदेखि हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल), यशोधर महाविहार, रत्नाकर महाविहार लगायत लिच्छिविकालीन बौद्ध विहार, विभिन्न मूर्त, अमूर्त सम्पदा १६ नंबर वडामै रहेको छ । कार्तिक नाच, अष्टमातृका नाच जस्ता मल्लकाकालिन नाच यस वडाबाट सञ्चालन हुने गरेको छ । वडाका करिब ६० प्रतिशत जनसंख्या पुस्तौदेखि गर्दै आएको हस्तकला पेशामा नै निर्भर रहेका छन् ।

यसलाई मध्यनजर गरेर वडालाई सांस्कृतिक, हस्तकलाका वडाको रुपमा विकास गर्ने लक्ष्य राखेको आयोजक समितिका संयोजक तथा ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यले बताएका छन्ं । हस्तकला व्यवसायी र व्यवसाय प्रर्वद्धनको दीर्घकालीन लक्ष्यमा पुग्ने एक रणनीतिक कार्यक्रम रुपमा महोत्सवलाई यस महोत्सवलाई अघि सारेको वडा अध्यक्ष शाक्यको जिकिर रहेको छ।

क्राफ्ट सिटीको घोषणापछि यहांका ऐतिहासिक सम्पदा मूलतः मठ, मन्दिर, स्तुप, चैत्य विहार एवं सत्तलहरुको संरक्षण र सम्र्वद्धनका लागि ठोस काम गर्ने अवसर आएको खुलासा पनि वडा अध्यक्ष शाक्यले गरेका छन्।

यहां उत्पादन भएका हस्तकलाका वस्तुहरुको गुणस्तरीयता कायम गर्ने, कालिगढहरुको लागि तालिम वा प्रशिक्षण केन्द्र, बजार प्रर्वद्धन लगायत गतिविधिहरु तीब्र गतिले हुने सबैले अपेक्षा गरेको ठहर पनि वडा अध्यक्ष शाक्यको रहेको छ।

पुस्तौंदेखि हस्तकलाका व्यवसाय अगाल्दै आएका कालिगढहरुमा ललितपुरलाई क्राफ्ट सिटी घोषणाले उत्साहको सञ्चार गराएको प्रचार संयोजक सुनिल महर्जनले भिजन संसार डटकमलाई बताएका छन्। प्रचार संयोजक महर्जनका अनुसार, हस्तकलाको विकास, कालिगढ प्रर्वद्धन, कालिगढले भोग्नुपरिरहेको समस्या समाधानका लागि ठोस नीति, योजना र कार्यक्रम बन्नेमा कालिगढहरुले विश्वास लिएका छन् ।

यही भावना, चाहनामा टेकेर यस महोत्सव तय गरेका हो। महोत्सवले यही दिशातर्फ अघि बढ्न सकारात्मक उर्जा प्रदान गर्ने भएको छ। हस्तकला नगरीको उत्सव, कला संस्कृतिको महोत्सव भन्ने मूल नाराका साथ यस महोत्सव पाँच दिनसम्म चल्ने छ । महोत्सवको प्रर्वद्धकमा नेपाल हस्तकला महासंघ, ललितपुर हस्तकला संघ, ललितपुर उद्योग वाणिज्य रहेका छन् । १६ वडाभित्रका टोलहरु महोत्सवको सह–आयोजक रहेका छन्।

महोत्सवको तयारीका लागि वडाले हस्तकला व्यवसायी, निजी क्षेत्र, सहकारीकर्मी, महिला समूह, पर्यटक व्यवसायी, जातीय समाजका प्रतिनिधि, टोल सुधार समिति, विभिन्न वडाका जनप्रतिनिधिहरुसंग छलफलमार्फत सबैको स्वामित्व, अपनत्व र सहभागितालाई जोड दिदै महोत्सवको तयारीलाई अघि बढाइएको आयोजक समितिले भनेको छ।

प्रकाशन मिति–२०७५ साल चैत्र ११ गते सोमवार ।