काठमाडौ। कोरोनाको कहर काठमाडौं महानगरपालिका वडा नंबर ५ स्थित हाँडीगाउँ क्षेत्रमा देखिएपछि हाँडीगाउँ क्षेत्र सिल गरिएको छ। एउटै टोलमा ११ जनालाई कोरोना संक्रमण देखिएपछि गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको हो।

गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नंवर ५ का वडा अध्यक्ष रमेश डंगोलले वताएका छन्। संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु रहेको पनि वडा अध्यक्ष डंगोलको भनाई छ।

वडा अध्यक्ष डंगोलले भिजन संसार डटकमलाई दिएको जानकारी अनुसार,
त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो। प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको थियो।
उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप ६ जनामा कोरोना पुष्टि भएको थियो।

वडा अध्यक्ष डंगोलले अहिलेलाई सिल गरेको वताउंदै भोलि आइतवार विहान ८ बजे आफ्नै अध्यक्षतामा रहेको कोभिड–१९ सम्बन्धी समितिको बैठक बसेर आवश्यक निर्णय गर्ने वताएका छन्।


प्रकाशन मिति–२०७७ साल साउन २४ गते शनिवार ।