काठमाडौ। नवलपरासीको सुनवलमा स्थानीय र प्रहरीबीच आइतवार झडप भएको छ । झडपमा दुबैतर्फ गरी ११ जना घाइते भएका छन् । हाटबजार सार्ने बिषयमा भएको विवादमा ११ जना घाइते भएका हुन् । सुनवल चोकको उत्तरतर्फ चल्दै आएको आइतबारे हाटबजार सुनवल नगरपालिकाले नदुवाटोलमा सार्न खोजेपछि स्थानीय बासिन्दा, व्यापारी र प्रहरीबीच झडप भएको हो।

Nawalparashi map

झडपमा प्रहरीले लाठीचार्ज र ६ सेल अश्रुग्यास प्रहार गरेको छ। झडपमा स्थानीय देवी घिमिरे, यमप्रसाद चापागाई, यमकुमारी चापागाईं, रिता कुँवर, चन्द्रिका ढेंगा, यमकुमारी सूर्यवंशी, घनश्याम श्रेष्ठ लगायत घाइते भएका छन्। प्रहरीतर्फ पनि ४ जना घाइते भएको प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिए।

सुनवल नगरपालिकाले स्थानीय र व्यापारीसँग सल्लाह नै नगरी एकलौटी रुपमा बजार सार्न खोजेको आरोप स्थानीय तथा व्यापारीको छ। व्यापारीहरुले ३ महिनाको समय दिए आफै उपयुक्त स्थानमा सर्ने बताएका छन्। नगरपालिकाका अधिकृत माधवप्रसाद ढकालले भने बजार क्षेत्रमा हाटबजार भएको र नगरपालिकाको सेवा प्रवाहमा असर परेको भन्दै तत्काल हटाउने अडान लिँदै आएका छन् ।
प्रकाशन मिति–२०७२ साल चैत्र २१ गते आइतवार ।