काठमाडौं। भाषा, जाति, धर्म र राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा निरन्तर सक्रिय विश्वको एकमात्र संस्था हामी नेपाली ग्लोबल यो आउने नोभेम्बर २४ तारिखका दिनवाट स्थापनाको दुई बर्ष पूरा हुने भएको छ। यस अवसरमा हामी नेपाली ग्लोबल स्थापना भएको अमेरिकाको न्यूयोर्कमा भव्य रुपमा दोश्रो अन्तरराष्ट्रिय सम्मेलन हुने भएको हो।

हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले भिजन संसार डटकमलाई जानकारी दिएअनुसार, नोभेम्बर २४ तारिखका दिन न्यूयोर्कको क्वीन्स पब्लिक लाइब्रेरीवाट विश्वभरवाट अमेरिकाको न्यूयोर्क आइपुगेका नेपालीहरुको भव्य शान्ति पदयात्रा हुने भएको छ।

पदयात्रा पश्चात सोही स्थानमा दोश्रो स्थापना दिवस मनाएर विश्वभरका नेपालीहरुलाई एक हौ भन्ने सन्देशलाई व्यापक रुपमा प्रवाहित गरिने कार्य भएको केन्द्रिय अध्यक्ष लामाको भनाई छ। हालसम्म विश्वभरका ४० राष्ट्रमा हामी नेपाली ग्लोबल विस्तार भैसकेको छ।

विश्वभर रहेका नेपालीहरुलाई कुनैपनि आपत–विपत पर्दा नेपालीहरुव्दारा नै सहयोग गर्ने माध्यमको रुपमा हामी नेपाली ग्लोबल रहेको छ। यही उदेश्य तथा सोच अनुरुप हामी नेपाली ग्लोबलको स्थापना भएको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष लामाले भनेका छन्।

त्यसको अलावा हामी नेपाली ग्लोबलको माध्यमवाट मातृभूमि नेपाललाई आपत–विपत पर्दा पनि विभिन्न सहयोग गर्ने कार्य गर्दैआएको छ। कोरोना महामारीको बेला अमेरिका, नेपाल लगायतका विभिन्न देशमा रहेका नेपालीहरुलाई विभिन्न राहत सहयोग दिने कार्य पनि गरेको जानकारी पनि केन्द्रिय अध्यक्ष लामाले दिएका छन्। हामी नेपाली ग्लोबलको दोश्रो अन्तरराष्ट्रिय सम्मेलन नोभेम्बर २५तारिखका दिन समापन हुने भएको छ।

प्रकाशन मिति–२०७८ साल असोज २५ गते सोमवार ।