काठमाडौं। विगत तीन हप्तादेखि हरेक दिनजसो हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाको अगुवाइ तथा संयोजकत्वमा राहत सहयोग दिने कार्य भैरहेको छ। कोरोनाको मारमा परेका विपन्न वर्गलाई निःशुल्क खाना खुवाउने कार्यक्रम देखि खाद्य सामाग्री तथा स्वास्थ्य सामाग्री राहत सहयोग दिने कार्य भएको हो।

यसक्रममा यो हप्ता सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका चनौटे वडा नंबर ५ स्थित बराम्ची ढाडेबजारसम्म पुगेर राहत सामाग्री दिने कार्य भएको हामी नेपाली ग्लोबलले जनाएको छ। त्यस्तै, काठमाडौंको बौद्ध–जोरपाटीदेखि बालाजुस्थित विष्णुमति पुलकिनार तथा डल्लु पुलकिनारमा रहेका विपन्न श्रमिकहरुलाई निःशुल्क भोजन गराउने कार्य दैनिक रुपमा तदारुकताकासाथ गरिरहेको पाइएको छ।

लकडाउन मात्र गर्न जान्ने सरकारले नेपाली जनतालाई कुनै राहत नदिइकन चुपचाप बसिरहेको वर्तमान अवस्थामा हामी नेपाली ग्लोबलको अगुवाईमा विभिन्न संघ–संस्थाको सहकार्यमा भैरहेको यसप्रकारका कार्यले विपन्न श्रमिक वर्गलाई केही हदसम्म भएपनि राहत पुग्न गएको पाइएको छ।

यस महान कार्यमा अमेरिकाको न्यूयोर्कमा रहेका राजेश गुरुङ देखि हामी नेपाली ग्लोबलको नेब्रास्काको काउन्सिलर गोविन्दप्रसाद पौडेल, हामी नेपाली ग्लोबलको लुजियानाको काउन्सिलर हरि कार्की लगायतसम्मकाको सहयोग प्रतिवद्धताले राहत सहयोग वितरण गर्ने कार्यमा थप जागरुकता आइरहेको जानकारी हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष लामाले दिएका छन्।

हामी नेपाली ग्लोबल विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने महान अभियानमा लागेको जाति, भाषा तथा राजनीतिभन्दा माथि उठेर अमेरिकामा स्थापित नेपाली संस्था हो। नेपालआमाको आँशु पुछ्न जन्मेको नेपालीहरुको सामाजिक संस्थाको रुपमा हामी नेपाली ग्लोबलले आफूलाई अगाडि बढाउने कार्य भैरहेको केन्द्रिय अध्यक्ष लामाले भनेका छन्।


प्रकाशन मिति–२०७८ साल जेठ १० गते सोमवार ।