काठमाडौ। धेरै समयदेखि हिंसाको चपेटामा पर्दै आएको सिरियामा यो एक हप्ता मात्र ५ सय भन्दा बढी बालबालिका मारिएको विभिन्न अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ।

राजधानी दमास्कस नजिकैको गुटा सहरमा सिरियाली सेनाले गरेको हवाई आक्रमणमा ठूलो जनधनको क्षति भएको बताइएको छ । सो क्षेत्र अन्तर्राष्ट्रिय आतंकवादी समूह (आइएस)को अन्तिम गढ मानिएको छ ।

सिरियाली सेना र रुसले समेत सो क्षेत्रमा सैन्य कारवाही तीव्र तुल्याएको छ। पश्चिमा मुलुकको गठबन्धन पनि सिरियामा बेलाबखत हवाई हमला गर्दै आएको छ। तर सिरियाली सेना र रुसको एउटा गठबन्धन छ भने पश्चिमा मुलुक अर्को गठबन्धन बनाएर हमला गर्दैछन् ।

पश्चिमा मुलुकले सिरियाको विद्रोही समूहलाई हातमा लिएको छ, जो राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाउन चाहन्छ । तर रुसले राष्ट्रपति असदलाई सहयोग र समर्थन गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय शक्ति दुई ध्रुवमा विभाजित भएको मौकाको फाइदा उठाउँदै आइएसले सिरियामा आफ्नो गतिविधि बढाउँदै गएको छ । राष्ट्रपति असद भने मुलुकबाट आइएसको प्रभाव अन्त्य गर्ने भन्दै सैन्य कारवाहीलाई अनुमोदन गर्दै आएका छन् ।

गुटा सहरमा भएको पछिल्लो हवाई हमलामा सहर नै कुरुप बनेको छ । कुनै घर यस्ता छैनन्, जो सग्ला हुन् । सहर एक खण्डहरमा परिणत भएको छ भने कयौं नागरिक मारिएका छन् । मारिनेमा बालबालिका मात्र ५ सय भन्दा बढी रहेको बताइएको छ । शव गाड्न चिहानका लागिसमेत जमिनको अभाव हुन थालेको बताइन्छ। जताततै शव गाडिएको छ।

(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल फागुन १४ गते सोमवार ।