काठमाडौ। ओखलढुङ्गाका सुमन दाहाल उमेरको हकमा धेरै भएको छैन्। २० बर्ष मात्र पार भएको अवस्था रहेको छ। काठमाडौंको कपनमा बसोबास भएतापनि विहानै काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित प्रसिद्ध तिर्थस्थल टुंडालदेवी मन्दिर परिसरमा डोरो बाधिदिने कार्यमा व्यस्त छन्।

हिन्दू धर्मावलम्बीहरुको महान पर्व आज जनै पूर्णिमामा डोरो बाधिदिने अनि आशीर्वाद दिने कार्यमा व्यस्त तन्नेरी पण्डित दाहालमा पिता–पूर्खाको यो कार्यलाई हामी तन्नेरीले नगरेमा भविष्यमा यो परम्परा लोप हुने हो कि भन्ने डर रहेको छ। यसकारण पनि वर्तमान साइवर युगमा पनि पराम्परागत कार्य गर्नुको गौरबता नै बेग्लै रहेको तर्क दाहालको छ। धर्ममा सामाजिकता तथा बैज्ञानिकता दुवै भएको कारण हामीले चल्दैआएको पूरातन संस्कृतिलाई विर्सन नहुने र पूर्खाका यी संस्कृति र परम्परालाई निरन्तरता दिन आवश्यक भएको तन्नेरी पण्डित दाहालका जस्तै आम सर्वसाधारणमा हुनु जरुरी छ।

आज आइतवर हिन्दू धर्मावलम्बीहरुको महान पर्व जनै पूर्णिमा अर्थात ऋषि तर्पणी। यस पर्वमा जनै लगाउनेहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गर्छन् । यस्तै सुरक्षाको लागि भन्दै नाडीमा मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ।
यस बाँधिएको डोरो गाई तिहारका दिन गाईका पुच्छरमा बाँधेमा मृत्युपछिको वैतरणी पार होइन्छ भन्ने जनविश्वास छ।

वर्षाभरको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित शरीरमा फेरि ऊर्जा ल्याउन भन्दै यस दिन नौ जातका अंकुरित गेडागुडी मिसाएर पकाएको पौष्टिकतत्वयुक्त क्वाँटी खाने गरिन्छ। रसुवाको धार्मिक तथा पबित्र तीर्थस्थल गोसाईकुण्डमा जनै पूर्णिमाको अवसरमा मेला लागेको छ।

भगवान् शिवको वासस्थानको रूपमा हिमालयको काखमा रहेको यस कुण्डमा स्नान गर्नाले पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पूरा हुने जनविश्वास छ। मेला भर्न देशका बिभिन्न स्थानको साथै बिदेशबाट समेत भक्तजन गोसाईकुण्ड पुगेका छन्। भाद्र शुक्ल एकादशीदेखि शुरु भएको जनै पूर्णिमा मेला आजसम्म लाग्दछ।

मिथिलाञ्चल क्षेत्रमा भने भाइ र बहिनीको प्रेम प्रतीकको रुपमा मनाइने रक्षा बन्धन पर्व र जनै पूर्णिमा धूमधामका साथ मनाइंदै छ। जनकपुरको जानकी मन्दिर, राममन्दिरमा पूजापाठ गर्न श्रद्धालु भक्तजनको भीड लागेको छ। रक्षा बन्धनको अवसरमा दिदी बहिनीहरुले आफ्ना दाजुभाईलाई राखी बानी रक्षा बन्धन पर्व मनाइन्छ।


प्रकाशन मिति–२०७८ साल भाद्र ६ गते आइतवार ।