Teej 1काठमाडौ। हिन्दू नारीहरुको महान पर्व आज हरितालिका तीज पर्व परेको छ। यस पर्वमा हिन्दू नारीहरु विहानै देखि निराहार ब्रत बसेर पूजापाठ गर्ने गर्छन्। अघिल्लो आधारातसम्म मिठा परिकारका दर खाएर आज विहानै देखि निराहार ब्रत बस्ने हिन्दू नारीहरुले पानी पनि नखाने गरेको पाइएको छ।

पानी पनि नखाइकन श्रीमानको आयु र आरोग्यताको लागि परम्पराअनुसार ब्रत बस्ने तथा राम्रो श्रीमान पाउने अपेक्षामा ब्रत बस्ने अविवाहिता महिलाहरु छमछमी नाँच्ने गर्दा कतिपय स्थानमा बेहोश हुने गरेको पनि पाइएको छ। त्यसैले कतिपय महिला दिदीबहिनीहरुले स्वास्थ्यकर्मीहरुले निराहार ब्रत बस्दा पानी खान हुने र पानी खानु पर्ने भन्ने गरेका छन्।

Teej 2स्वास्थ्यकर्मीको सल्लाहलाई बेवास्ता गर्ने महिला दिदीबहिनीहरु बेहोश बन्ने गरेका छन्। पानीको अभाव तथा कमजोरीका कारण त्यसो हुने गरेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ। हिन्दू धर्मशास्त्रअनुसार,सखीहरुद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास व्रतलाई हरितालिका तीज भनिएको हिन्दू शास्त्रहरुमा पाइन्छ।

हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ। भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ।

Teej 3सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको काठमाडौंको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, नुवाकोटको दुप्चेश्वर, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका शिव मन्दिरहरुमा बिहानैदेखि घुँइचो लागेको छ। यस दिन शिवको आराधनासहित महिलाहरुले तीज गीतको भाकामा आफ्ना वर्र्षभरिका पीडा पोख्दै गीत गाउने र नाच्ने गर्दछन्। यस अवसरमा सरकारले महिलाका लागि बिदा पनि दिने गरेको छ।

प्रकाशन मिति–२०७३ साल भदौ १९ गते आइतवार ।