काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हिन्दु नेपाली महिला दिदीबहिनीहरुको महान पर्व आज हरितालिका तीज पर्व परेको छ। यो पर्वमा महिला दिदीबहिनीहरु निराहार ब्रत बसेर देवादीदेव महादेवको पूजा आराधना गरेर मनाउने गरिन्छ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले तपस्या गरेर श्रीमहादेव पति पाउने बरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत भगवना विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत तथा विश्वास रहेको छ।

विवाहित महिलाले पतिको दिर्घायू र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै तिजको दिन निराहार ब्रत बस्ने परम्परा छ। व्रत वस्ने नारीले अटल सौभाग्य प्राप्त गर्ने तथा भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ।

तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना फैलन थालेपछि धेरै मन्दिर चैत ११ देखि नै बन्द गरिएको छ। देशका अन्य मठमन्दिरहरुमा पनि खास चहलपहल छैन्। विहीवारदेखि काठमाडौं उपत्यकामा लकडाउन अर्थात निषेधाज्ञा जारी गरिएकाले तीजका ब्रतालुहरुले घरमै देवादीदेव महादेवको विधिपूर्वक पूजाराधना गरी यो पर्व मनाउन वाँध्य छन्।

Model-Abhiruchi Budhathoki & Aliza Katuwal Photo By-Kabindra Man Shakya.
प्रकाशन मिति–२०७७ साल भाद्र ५ गते शुक्रवार ।