काठमाडौ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन सुरु भएको छ। हिमाली र पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा बिहान ७ बजेबाट मतदान शुरु भएको हो। मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।


दुई वर्षअघि संविधान जारी भएपछि पहिलो पटक संघीय संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको हो। पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सदस्यका लागि मतदान भैरहेको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये पहिलो चरणमा ३७ क्षेत्रमा मतदान हुँदैछ। प्रदेशसभातर्फ भने ३ सय २० निर्वाचन क्षेत्रमध्ये ७४ क्षेत्रमा मतदान हुँदैछ।

समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० र प्रदेशसभामा २ सय २० सिटका लागिसमेत मतदान भैरहेको छ । निर्वाचनका लागि २ हजार ९ सय १९ मतदान स्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र निर्धारण गरिएको छ । पहिलो चरणको निर्वाचनमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाता सहभागीता जनाउंदैछन्।

आज निर्वाचन भइरहेका जिल्लाहरुमा प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ रहेका छन्। त्यसैगरी प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा पनि निर्वाचन भइरहेको छ।

त्यस्तै प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोर्खा तथा प्रदेश नम्बर ५ का रुकुम पूर्व र रोल्पामा निर्वाचन भइरहेको छ।
प्रदेश नम्बर ६ का रुकुम पश्चिम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पनि निर्वाचन भइरहेको छ।

प्रदेश नम्बर २ का सबै जिल्ला र बाँकी अरु जिल्लामा भने दोस्रो चरणअन्तर्गत मंसिर २१ गते निर्वाचन हुने भएको छ। यसै निर्वाचनमार्फत् नयाँ संविधानले व्यवस्था गरेका शासकीय प्रबन्धलाई लागु गराउने तथा ऐतिहासिक उपलब्धिहरुलाई संस्थागत गर्ने महत्वपूर्ण बाटो खुल्नेछ।

यही निर्वाचनबाट चुनिएर आउने जनप्रतिनिधिले राष्ट्रिय सभा निर्माण गर्नेदेखि राष्ट्रपति/उपराष्ट्रपतिसमेतको चयन गर्नेछ। पहिलो चरणमा मतदान भइरहेका क्षेत्रमा प्रतिनिधिसभाका लागि २८२ तथा प्रदेश सभाका लागि ४२० जना उम्मेदवार प्रतिस्पर्धामा छन्।


प्रकाशन मिति–२०७४ साल मंसीर १० गते आइतवार ।