मनाङ। हिमाली पारिको जिल्ला मनाङको तापक्रम माइनस १४ डिग्री सेल्सियससम्म झरेपछि त्यहाँको जनजीवन अत्यन्त कष्टकर बनेको छ।

अत्यधिक चिसोका कारण गंगापूर्ण तालका साथै स्थानीय खोलानालाको पानी बरफ बनेको छ । पिउने पानीका मुहानहरु जमेका छन् । धाराको पानीसमेत जमेकाले पिउने पानीको अभाव हुन थालेको मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताएका छन्। अरु भन्दा ठूलो भएकाले मर्स्याङ्दी नदी भने जमेको छैन।

धारामा पानी जमेकाले पानी आउन छाडेको र पानी थाप्नका लागि पाइप तताउनुपर्ने अवस्था रहेको छ। सदरमुकाम चामेमा दिउँसोको समय घाम लागे पनि चिसो भने अत्यधिक रहेको छ।

स्थानीयबासी घरबाट बाहिर निस्कन सकेका छैनन् । घरभित्रै आगो तापेर बस्ने बाँध्य छन् । चिसो अत्यधिक बढेपछि जिल्लाका अधिकांश व्यक्तिले गाउँ छाडेका छन्। जाडो छल्न धेरैजसो पोखरा, काठमाडौंलगायतका स्थानमा झरेका छन् । जाडोका कारण सेवाग्राही नआउँदा सरकारी कार्यालय पनि सुनसान बनेका छन्।
प्रकाशन मिति–२०७४ साल पुष २५ गते मंगलवार ।