काठमाडौ। रंगहरुको उत्सव रंगीन पर्व फागु अर्थात होली पर्व सदभावको पर्वको रुपमा लिइन्छ्। जुन नेपालको पहाडी तथा हिमाली क्षेत्रमा आज र तराई क्षेत्रमा भोलि मनाइने गरिन्छ।

यिनै होली पर्वको बेला कुनैपनि प्रकारका अप्रिय घटना नहुन भनेर प्रशासनले बेला–बेलामा कडाई गर्ने गरिएको छ। जसको कारण पहिला जस्ता केही बर्षयता जथाभावी इच्छा विपरित रंग दलिदिने तथा लोला प्रहार गर्ने कार्य लगायतका विकृतिको अन्त भएतापनि होली पर्वको रुपमा निस्फिक्री रुपमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने प्रवृतिको भने बढाबा भएको पाइन्छ।

जुन कुराको पूर्नराबृति यो बर्षको होली पर्वमा पनि भएको छ। त्यसरी होहल्ला गरेर हिंडेका दुई सय बढी सर्वसाधरणलाई काठमाडौमा प्रहरीले नियन्त्रणमा लिएका छन् । महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार, टेकु, कालिमाटी, गौशाला, पुतलीसडक, चावहिल, न्यूरोड लगायतका स्थानमा होहल्ला गरेर होली मनाउन हिंडेकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यसैगरेर, प्रहरीले विभिन्न स्थानबाट दुई सय ५० वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। मादक पदार्थ सेवन गरेर, हेल्मेट नलगाई र एउटै मोटरसाइकलमा तीन जनासम्म चढेका मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

प्रहरी र ट्राफिकले संयुक्त रुपमा सय बढी स्थानमा चेक प्वाइन्ट राखेका थिए । दिउँसै मापसे गरेर सवारी हाक्ने र क्षमता भन्दा बढी यात्रु राखेर गुडाएका सवारीसाधनमाथि प्रहरीले सोधपुछ गरेको थियो।

प्रकाशन मिति–२०७४ साल फागुन १७ गते विहीवार ।