काठमाडौं । काठमाडौं महानगरपालिका वडा नंबर १८ किलागलस्थित ह्याउँम्ह किसि देयग (रातो हात्ती मन्दिर) को पुननिर्माण सम्पन्न भएको छ । काठमाडौं महानगरको वडा १८ किला घः मा रहेको मन्दिरको शनिवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उदघाटन गरेका हुन्। काठमाडौं महानगरपालिकाको चालु आर्थिक बर्षको बजेटबाट यसको पुननिर्माण गरिएको महानगरपालिकाले जनाएको छ।

मन्दिर उदघाटनपछि बोल्दै मेयर शाक्यले स्थानीय भाषा, कला, साहित्य, सिर्जना, सम्पदा र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व महानगरपालिकाको भएको भन्दै सम्पदा पुननिर्माण, मर्मत सम्भार र बचावटका लागि महानगरमा आएका कुनै पनि माग फिर्ता नगरेको जिकिर गरेका छन्। गुठी परम्परा जोगाउन महानगरपालिकाले जस्तो सहयोग गर्न र गराउन आफू कटिबद्ध रहेको पनि मेयर शाक्यले भनेका छन्।

त्यस क्रममा बोल्दै वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले भित्री शहरका नाम अपभ्रंस भएर अर्कै उच्चारण हुन थालेपछि सडक, चोक र गल्लीको नाम रञ्जना लिपी, नेपाली र अंग्रेजी भाषामा नाम लेख्न थालिएको बताएका छन् ।

विसं.२०७२ सालको भूकम्पले जीर्ण बनेको मन्दिरलाई पहिलेको संंरचनामा देखिएका त्रुटी सच्याएर पुननिर्माण गरिएको छ । करीब १३ लाख ५० रुपैयाँ लागतमा निर्माण सम्पन्न मन्दिरमा पहिले झिँगटीको बनाइएको हात्तीको सरीरलाई अहिले तामाको बनाइएको छ । रेलिङ्मा काठ राखिएको छ ।

पहिलेको काठको आसनलाई अहिले तामाले घेरिएको छ । दैनिक पूजा आजा हुने मन्दिरमा इन्द्रजात्राको अन्तिम दिन (नानिचा या) का दिन बिशेष पूजा हुने गर्दछ।


प्रकाशन मिति–२०७७ साल मंसीर २० गते शनिवार ।