काठमाडौं। रेक्स फेसन होमले मिस नेवाः आइकन २०१८को आयोजना गर्ने भएको छ। रेक्स फेसन होमले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर आउँदो चैत १० गते काठमाडौंको आर्मी अफिसर्स क्लबमा मिस नेवाः आइकनको दोश्रो संस्करण आयोजना गर्न लागेको जानकारी गराएको हो।

दुई वर्ष अगाडि मिस नेवाः आइकन २०१६ को शुरुवात भएको कार्यक्रमको दोश्रो संस्करणसँगै यो वर्ष निरन्तरता दिन लागिएको हो। कार्यक्रममा रेक्स फेसन होमका प्रबन्ध– निर्देशक खगेश रंजीतले नेवार युवतीहरु माझ नेतृत्व विकासको साथै लुकेका प्रतिभा उजागर गर्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गर्न लागिएको बताए।

पत्रकारको प्रश्नको उत्तर दिंदै प्रवन्ध– निर्देशक रंजीतले अन्तिम प्रतिस्पर्धामा प्रथम हुनेलाई रु. ३० हजार नगद साथै ७ तोलाको चाँदीको ताज पुरस्कार दिइने जानकारी दिए। साथै, मिस नेवाः आइकन २०१८ उपाधि विजेतालाई एअर होस्टेस तालिमको अलावा जुम्बा, जिम, फिजिकल फिटनेसको तालिम पनि निःशुल्क उपलब्ध गराइने भएको छ। प्रतियोगीतामा दोश्रो हुनेलाई रु. २० हजार नगदसहित ४ तोलाको चाँदीको ताज र तेश्रोलाई रु. १० हजारसहित ३ तोलाको चाँदीको ताज पुरस्कार दिइने बताइको छ।

प्रतियोगीताका अन्य टाइटल बिजेता प्रत्येकलाई रु. ५ हजार पुरस्कार दिइने पनि भनिएको छ। रेक्स फेसन होमका प्रमुख कार्यकारी अधिकृत रेक्स रंजीतले बढीमा ३० जना प्रतिस्पर्धी बीचमा अन्तिम प्रतिस्पर्धा गरी मिस नेवाः आइकन २०१८ चयन गरिने भनेका छन्।

कार्यकारी अधिकृत रंजीतले नाम दर्ता गराउनेहरुबाट अडिसन गरी छनौटमा परेकाहरुको बीच अन्तिम प्रतिस्पर्धा हुने बताउँदै अडिसनमा सक्षमलाई मात्र नभइ, क्षमता विकासको सम्भावनालाई सम्मपनि ध्यान दिइने बताएका छन्। प्रतियोगीताका लागि एसईई पास भइसकेका १६ देखि २४ वर्षसम्मका नेवार समुदायका युवतीहरुले आफ्नो नाम दर्ता गराउनसक्नेछ।

काठमाडौं उपत्यकाभित्रकाले माघ २७ गतेसम्म र उपत्यका बाहिरकाले फागुन ४ गतेसम्म नाम दर्ता गराउनेसक्ने आयोजकले भनेको छ । त्यसैगरी उपत्याका भित्रका प्रतिस्पर्धीको माघ २८ गते र बाहिरका प्रतिस्पर्धीको फागुन ५ गते अडिसन हुनेछ । अडिसनबाट छनौटमा परेकालाई क्याटवाल्क लगायत विभिन्न तालीम दिइ अन्तिम प्रतिस्पर्धाको लागी तयार गरीनेछ।

काठमाडौं उपत्यका बाहिरका सहभागीहरुको लागी काठमाडौंमा बास र खानामा ५० प्रतिशत खर्च आयोजकले व्यहोर्ने जनाएको छ । रेक्स फेसन होमका सल्लाहकार साथै ह्याउँनिभाः पुचःका सदस्य अनुपसिं सुवालले नेवार युवतीमाझ नेतृत्व र क्षमताको विकास गर्ने रेक्सको अभियानमा आफुहरुले पनि सहकार्य गर्न पाउँदा पुचःले गौरव महसूस गरेको बताएका छन्। कार्यक्रम रेक्स फेसन होमले आयोजना गर्न लागेको छ भने कार्यक्रमको आयोजनामा ह्याउँनिभाः पुचःले पनि सहकार्य गरिरहेको छ।

प्रकाशन मिति–२०७४ साल माघ १९ गते शुक्रबार ।