काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली दश दिनको अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन्। एपेन्डिसाइटिस’को समस्या आएपछि यही मंसिर १० गते अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ‘डिस्चार्ज’ भएको हो।

प्रधानमन्त्री ओलीलाई ‘स्वास्थ्यलाभ’ भएको तर अझै केही दिन आराम गर्नुपर्ने त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ। एपेन्डिसाइटिसमा संक्रमण भएपछि प्रधानमन्त्री ओलीको मंसिर १० गते नै आकस्मिक शल्यक्रिया गरिएको थियो। एपेन्डिसको शल्यक्रियापछि प्रधानमन्त्रीलाई एक रात ‘भेन्टिलेटर’मा राखिएको थियो।

प्रधानमन्त्री ओली १० दिनपछि पनि ‘आइसीयु’कक्षबाटै डिस्चार्ज भएका हुन्। १० दिन अस्पताल बसाइँका क्रममा प्रधानमन्त्री ओलीको चारपटकसम्म मिर्गौलाको ‘डायलासिस’समेत गरिएको थियो। अस्पतालबाट फर्कनेक्रममा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर निवास गएको दाबी गरेका छन्।

प्रधानमन्त्रीका निजी चिकित्सक डा। दिव्या सिंहले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएपनि पूर्णरुपमा स्वस्थ हुन केही समय लाग्ने बताएकी छन्। प्रधानमन्त्री ओलीको पुनः मिर्गौला प्रत्यारोपण गर्नेबारे पनि छलफल भइरहेको डा.दिव्या सिंहको भनाई रहेको छ।
प्रकाशन मिति–२०७६ साल मंसीर १९ गते विहीवार ।