Nepal Rastra Bankकाठमाडौ। नेपालमा साउन १ गतेदेखि १० लाख माथिको नगद कारोबारमा नेपाल राष्ट्र बैंकले कडाईका साथ रोक लगाउने भएको छ। नेपाल राष्ट्र बैंकले बैशाख २८ गते नै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेर १० लाख वा सोभन्दा माथिको भुक्तानीमा अनिवार्य रुपमा एकाउन्टपेयी चेकको प्रयोग गर्न परिपत्र जारी गरिसकेको छ।

फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएको चेकहरुको भुक्तानी समेत एकाउन्टपेयी चेकबाट मात्रै गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यद्यपी कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाएर लिखित निवेदन दिएमा बैंक तथा वित्तीय संस्थाले आफैले निर्णय गर्न सक्ने सुविधा पनि दिइएको छ।

यसरी १० लाख वा सोभन्दा बढिको नगद भुक्तानी दिइएको मासिक जानकारी भने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको सुपरिवेक्षण बिभाग र वित्तीय जानकारी इकाइमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्रकाशन मिति–२०७४ साल असार १४ गते बुधवार ।