काठमाडौं। नेपालमा भव्य तथा सभ्य ढंगवाट १३ औं दक्षिण एशियाली खेलकुद (साग) संपन्न भएको छ। नेपालको काठमाडौं, पोखरा र जनकपुरमा १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न भएको हो।

मंगलबार दशरथ रंगशालामा विशेष ‘प्याकेज’सहितको समापन समारोह आयोजना गरी साग सम्पन्न भएको घोषणा गरिएको छ। सो समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सन्देश देखाइएको थियो। ओलीले कमजोर संरचनालाई पुनःनिर्माण गरेर ‘मिनि ओलम्पिक’ मानिने सागलाई सफलतापूर्वक सम्पन्न गर्न लाग्ने सबैप्रति आभार व्यक्त गरेका थिए।

त्यस्तै, समापन कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले छिमेकी राष्ट्रहरुप्रति सागले आपसमा थप मित्रता कायम गरेको दाबी गर्दै सहभागी सातै देशका सबैप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं साग आयोजना गरेर नेपालीहरुको दुःखी अनुहारमा खुशी भर्न सफल भएको दाबी गरे।

समापन समारोहमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीहरुको सुखद भविष्यको कामना गर्दै भ्रमण वर्ष २०२० लाई सफल बनाउन विदेशी खेलाडी, खेलकर्मी तथा पदाधिकारीलाई आग्रह गरे।
विभिन्न वीरताका गाथासहितको विशेष कार्यक्रमको आयोजनासहित सागको समापन गर्दैै १४औं साग आयोजनाका लागि पाकिस्तानलाई सागको झन्डा हस्तान्तरण गरिएको छ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा भारत शीर्ष स्थानमा रहन सफल भएको छ। अहिलेसम्मका सबै संस्करणमा शीर्ष स्थानमा रहेको भारतले कुल ३१६ मध्ये १७४ स्वर्णपदक जित्न सफल भयो।

दोस्रो स्थानमा रहन सफल भएको आयोजक नेपालले ५१ ओटा स्वर्णपदक जित्यो। नेपालले एउटै संस्करणमा पहिलोपटक यति धेरै संख्यामा स्वर्णपदक जितेको हो। तेस्रो स्थानको श्रीलंकाले ४० स्वर्ण जित्यो।

त्यस्तै, चौथो स्थानको पाकिस्तानले ३१ स्वर्ण जित्दा पाँचौं स्थानको बंगलादेशले १९ स्वर्ण जित्यो। छैटौं स्थानको माल्दिभ्सले एक स्वर्ण जित्दा पुछारको भुटान भने स्वर्णविहीन भयो।

यसअघि, ३१७ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुने भनिएको थियो। तर, अन्तिम समयमा जुडोको एउटा इभेन्ट नभएका कारण ३१६ स्वर्णका लागि प्रतिस्पर्धा भएको हो।
प्रकाशन मिति–२०७६ साल मंसिर २४ गते मंगलवार ।