Nepal Oil Corporation.1काठमाडौ।नेपाल आयल निगम १४ वर्षपछि आइतबार ऋण मुक्त भएको छ। आइतबार सरकारलाई अन्तिम किस्ताको साँवा ब्याज गरी १ अर्ब ४१ करोड रुपैयाँ तिरेपछि निगममा अब कुनै ऋणभार रहेन।

स्वचालित मूल्यसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि निगम नाफामा गई ऋण तिर्न सफल भएको हो । अर्थ मन्त्रालले पनि असारभित्रै ऋण चुक्ता गर्न पत्राचार गरेपछि निगमले पनि सोहीअनुसार तिरेको हो। अहिले निगमको मासिक नाफा ७० करोड रुपैयाँ छ। राजनीतिक हस्तक्षेपमा परेको निगमले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्न नसकेपछि २०५९/६० देखि घाटामा गएर ऋण लिई इन्धन आपूर्ति गरेको थियो ।

आपूर्ति सहज बनाउन सरकारसँगै नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र वाणिज्य बैंकसँग ऋण लिएको थियो । निगमका प्रवक्ता मुुकुन्दप्रसाद घिमिरेका अनुसार सरकार र बैंक लगायतबाट पटकपटक गरी ३६ अर्ब ८६ करोड रुपैयाँ ऋण लिएको थियो। अर्थ मन्त्रालयबाट १२ अर्ब ६४ करोड, नागरिक लगानी कोषको ९ अर्ब ३८ करोड, कर्मचारी सञ्चय कोषको १२ अर्ब ६० करोड र बैंकहरूबाट २ अर्ब २४ करोड रुपैयाँ ऋण थियो । २०७१ असोजदेखि स्वचालित मूल्यमा गएपछि निगम नाफामा छ। सोही नाफाबाट ऋण तिर्दै आएको हो ।

Nepal Oil Corporation

बैंक वित्तीय संस्थाबाट लिएको ऋण अघिल्लो वर्ष नै तिरिसकेको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ३० डलरभन्दा तल झरेपछि निगमको मुनाफा हवात्तै बढेको थियो । नाकाबन्दीको समयमा आपूर्ति नघटेको भए निगमको नाफा अझ बढी हुने आकलन छ । अहिले पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ४५ डलरको हाराहारीमा छ। अन्तर्राष्ट्रिय मूल्यमा निरन्तर गिरावट आए पनि निगमले सोहीबमोजिम मूल्य समायोजन गरेको थिएन। निगमले ऋण र ब्याज तिर्न छुट्टै शीर्षक पनि राखेको छ भने अर्काेतिर उच्च नाफासमेत राखेको थियो।

पछिल्लो पटक फागुनमा पेट्रोल डिजेलको मूल्य समायोजन भएयता मूल्य घटेको छैन। यस अवधिमा भारतमा भने ५ पटक मूल्य समायोजन भएको थियो। निगम ऋण मुक्त भएपछि बोनस वितरण गर्न पनि बाटो पनि खुला भएको छ । २०६६ को सञ्चालक समितिले ऋण चुक्ता नगरी बोनस वितरण नगर्ने निर्णय गरेको थियो । सोही व्यवस्थाअनुसार वार्षिक नाफा भए पनि बोनस बाँड्न सकेको थिएन । आर्थिक वर्ष २०७१/७२ मा निगमले १५ अर्ब नाफा गरेको थियो।
प्रकाशन मिति–२०७३ साल असार २८ गते मंगलवार ।