काठमाडौं। जनप्रतिनिधि आएपछि काठमाडौं महानगरपालिकाका प्राय सवै वडाहरुमा विकास निर्माणका कार्य तिब्र भैरहेको छ। त्यसमाथि, वडा–वडामा जनप्रतिनिधिहरुको क्रियाशीलता निक्कै नै तिब्र भएको पाइएको छ। कुनैबेला कर्मचारीहरुको एकाधिकार हुने गरेको वडा कार्यालयहरुमा निर्वाचित जनप्रतिनिधिहरुको कारण अत्यन्त सहज भएको सेवाग्राहीहरुको भनाई रहेको छ।

आइतवार भिजन संसार डटकम काठमाडौं महानगरपालिका वडा नंबर १५ को वडा कार्यालयमा पुग्दा त्यहाँ वडा अध्यक्ष ईश्वरमान डंगोल स्थानीय जनताहरुको कार्यहरुमा अत्यन्त व्यस्त भएको पाइयो। काठमाडौं महानगरपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष डंगोललाई त्यहाँ भ्याइनभ्याइ भएको देखियो।

सवैसंग बराबर सहज ढंगवाट प्रस्तुत भएर स्थानीय जनताका समस्या समाधान गर्न कुनै कसर वाँकी नराखेका वडा अध्यक्ष डंगोललाई वडा सदस्यहरु मैया महर्जन, निमा लामा, आनन्द गौतम र अनिता परियारका पनि व्यापक सहयोग रहेको देखियो। वडा अध्यक्ष डंगोल जतिकै वडा सदस्यहरुको सक्रियता पनि निक्कै देखियो। उनीहरु पनि जनताको काममा अत्यन्त व्यस्त बनेको पाइयो।

त्यसको अलावा हेल्प डेस्कमा सामाजिक अभियन्ता विमला थापा र नविना तिवारीको पनि व्यस्ततामा कुनै कमी देखिएन। काठमाडौं महागनरपालिकाको ठूला वडाको रुपमा मानिएको भगवान स्वयम्भुनाथको आँगनमा रहेको १५ नंबर वडामा सेवाग्राहीहरु पनि अत्यन्त सन्तुष्ट भएको पाइएको छ।

विशेष गरेर १५ नंबर वडामा चमति आयोजनाको समस्या देखि नक्सा पासको लागि सिफारिस, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, महिला तथा बालबालिकाका समस्या, घर–जग्गा बहालको किचकिच देखि प्रेम–डिभोर्ससम्मका मुददाहरु आउने गरेको पाइन्छ। अर्कोतर्फ स्वयम्भु क्षेत्रमा बाँदरको त्यतिकै समस्या र भुस्याहा कुकुर समस्या पनि यथावत देखिएको छ।

ती यावत समस्याको समाधानको लागि आफू दत्तचित्त भएर लागिरहेको वडा अध्यक्ष डंगोलले बताएका छन्। त्यसमाथि, जनप्रतिनिधिहरु आएपनि वडाको समग्र विकासको रुपमा ठाउं–गाउंमा ढल निकासको व्यवस्था तथा सडक पिच गर्ने कार्यवाट स्थानीय जनता धेरै खुशी देखिएको पाइएको छ। अर्कोतर्फ, वडा अध्यक्ष डंगोल काठमाडौं महानगरपालिकाको प्रवक्ता समेत भएको कारण व्यस्तता निक्कै बढ्ने गरेको छ।

सारा महानगरको बस्तुस्थितिका वारेमा सञ्चार माध्यमलाई जानकारी दिनका लागि हरदम तयार हुनुपर्ने अवस्था भएकोले वडा अध्यक्ष डंगोल विभिन्न विभागीय प्रमुखहरुसंग पनि काठमाडौं महानगरपालिकाको अपडेट लिन व्यस्त बन्ने गरेको छ।

चौविस घण्टामा अठार घण्टा महानगरकै काममा व्यस्त हुने गरेका वडा अध्यक्ष डंगोल वडा वाहिर महानगरका काममा व्यस्त हुनुपर्ने अवस्थामा वडा सदस्यहरुलाई आफ्नो विशेषाधिकार दिएर जाने गरेको कारण वडामा समस्या हुने दिने कार्य नभएको वडा सदस्यहरुको भनाई रहेको छ।

प्रकाशन मिति–२०७५ साल फागुन १३ गते सोमवार ।