काठमाडौं। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले चलाएको प्रत्येक स्वस्थ युवायुवतीहरूले आफ्नो १८औं वर्षको जन्मोत्सवसंगै रक्तदानको शुभारम्भ गरौं भन्ने बृहत नाराले सार्थकता प्राप्त गर्दैगएको छ। १८ बर्ष पुगेका युवा–युवतीहरु हिजोआज रक्तदानप्रति आकर्षित बन्न थालेको पाइएको छ।

उच्च माबि पढ्दै गरेका वा सो सरह उमेरका स्वस्थ युवायुवतीहरूलाई रक्तदानप्रति उत्प्रेरणा जगाई आफ्नो १८ औं वर्षको जन्मोत्सब रक्तदान गरि मनाउन प्रोत्साहित गर्नु यो अवधारणाको प्रमुख उद्देश्य भएको रेकर्डेट रक्तदाता कर्माचार्यको भनाई रहेको छ। १७ वर्ष पूरा गरि १८ वर्ष पुगेर आफ्नो जन्मदिन रक्तदान गरि मनाउन चाहनेहरुलाई उनीहरुको घरमा नै पुगेर परिवारजन,आफन्त र साथीभाइहरू बीच रक्तदान गराउने व्यवस्था मिलाउने कार्य पनि गर्दैआएको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष समेत रहेका रेकर्डेट रक्तदाता कर्माचार्यले बताएका छन्।

यसै अवधारणालाई सार्थक तुल्याउन व्यवहारिकरण गर्दै विहीवार काठमाडौंको डिल्लीबजार निवासी अनुज्ञा तुलाधरको आफ्नो १८औं जन्म दिन केन्द्रीय रक्त सञ्चार सेवा,कालिमाटीमा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं जिल्ला शाखाको बिशेष आयोजनामा रक्तदान गराउने कार्यक्रम सम्पन्न भएको छ।

नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाका अध्यक्ष नबिन महर्जनको बिशेष उपस्थिति समेत रहेको सो कार्यक्रममा स्वयंसेवी रक्तदाता अनुज्ञाकी आमा अर्चना तुलाधरले पनि रक्तदान गरेर छोरीलाई थप हौसला प्रदान गरेकी थिइन्।

सो बिशेष रक्तदान कार्यक्रममा Start 18 Stars Team को लोगो अंकित ब्याज पहराउनुका साथै शुभकामना–पत्र प्रदान गरि धन्यवाद ब्यक्त गरेका थिए। केन्द्रीय रक्त सञ्चारकी निर्देशक डा. मनिता राजकणिर्कारले प्रमाण-पत्र प्रदान गरेकी थिइन् ।
प्रकाशन मिति–२०७६ साल साउन ३१ गते शुक्रवार ।