Birganj Naka 1काठमाडौ। गत असोज ७ गते देखि भारतले अघोषित रुपमा बन्द गरिएको बीरगंज–रक्सौलको नाका आज शुक्रबारवाट हटेको छ।

१ सय ३५ दिन बीरगंज–रक्सौलको नाका खोलेपछि नेपालमा भारतले अघोषित रुपमा गर्दैआएको नाकाबन्दी हटेको हो। अरु नाकाहरु यसअघि नै खोलेपनि बीरगंज–रक्सौल नाका नखोलेर हैरान पार्दैरहेकोमा रक्सौलवाट भारतीय व्यापारीहरु नै बीरगंजको मितेरी पुलमा आएर धर्नामा बसेका मधेशी मोर्चाका ढाड तथा टहरा हटाएर तोडफोड र जलाइदिएपछि नाका खुलेको हो।

भारतीय व्यापारीहरुको उक्त कार्यमा नेपाली व्यापारी तथा स्थानियहरुको विशेष सहयोग र साथ रहेको भिजन संसारको बीरगंज स्थित समाचारदाताले जनाएको छ। मधेशी मोर्चाले गर्दैआएको अवरोध हटाएपछि मोर्चाका सिमित कार्यकर्ताहरुले अवरोध हटाएकोमा नारावाजी गरेतापनि व्यापक रुपमा नेपाल प्रहरीको परिचालनवाट उनीहरु मत्थर भएर गएको समाचारदाताले भनेका छन्।

बीरगंज–रक्सौल नाका खोलेपछि रक्सौलमा १ सय ३५ दिन देखि अलपत्र परिरहेका मालवाहक सवारी साधनहरु नेपाल भित्रिन थालेका छन्। इन्धन बोकेका नेपाल आयल निगमका ट्याँकरहरु पनि यस नाका भएर क्रमिक रुपमा नेपाल भित्रिन थालेपछि नेपालमा चर्किको इन्धन अभावमा सहजता आउने अपेक्षा गरिएको छ।

Birganj Naka 2प्रकाशन मिति–२०७२ साल माघ २२ गते शुक्रबार ।