काठमाडौं। हेर्दा–हेर्दै विसं.२०७५ साल नपत्याउंदो तरीकाले वित्ने क्रममा रहेको छ। र वितेर गैसकेको छ। कति तिता त कति मिठा भएर यो बर्ष अर्थात विसं.२०७५ साल वितेर गएको छ। यो बर्ष २०७५ सालमा नेपालले होनहार व्यक्तिहरु गुमाएको छ। जो इतिहासले सदा संझिरहने छन्। जो आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेपाल र नेपालीको लागि ठूलो योगदान गरेका छन्।

यो बर्ष नेपाली राजनीतिकै इतिहास पुरुष अझ पंचायतकामा बामपन्थी मसिहा नै मानिएका मानव अधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको कात्तिक १८ गते मस्तिष्काघातका कारण ७८ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भयो। तुलाधर नेपालभाषा आन्दोलनका प्रणेता तथा काठमाडौंको आवाज पनिे हो। जो काठमाडौंमा मात्र होइन, विश्वभर नै अत्यन्त लोकप्रिय चर्चित नेताका रुपमा लिइन्छ।

पंचायतकालमा बाम नेताको रुपमा तिखा र कडा भाषण दिएर जनताको पक्षमा लडाई लड्ने तुलाधर विसं.२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको कम्युनिष्ट सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री बनेका थिए । उनी विसं.२०४२ सालमा राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेदवार बनेर भारी मत प्राप्त गरेर विजयी पनि बनेका थिए। त्यसपछिका राजनीतिक घटनाक्रममा पनि तुलाधरको योगदानको सवैले संझ्ने गरेका छन्।

यस्तै, नेकपा नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको फागुन १८ गते शनिवार निधन भयो। फोक्सो र मुटुसम्बन्धी समस्याबाट पीडित अधिकारीको धुम्बाराहीस्थित हेम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो। २०५१ सालको कम्युनिष्ट सरकारका अर्थमन्त्री रहेका अधिकारी आफ्नो गाउँ आफै बनाउँ लगायत लोकप्रिय कार्यक्रमका योजनाकार थिए ।
यसैगरी पुस ३ गते पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भयो । लामो समयदेखि कलेजोसम्बन्धी रोगका कारण कमजोर बनेका गिरीको ९३ वर्षको उमेरमा निधन भयो ।
राजा महेन्द्रले २०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रूपमा चिनिन्थे। २०५९ सालमा पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनीले मन्त्रिपरिषद्को उपाध्यक्ष बनेर पूर्वराजा ज्ञानेन्द्रलाई साथ दिएका थिए।

केपी शर्मा ओली नेतृत्वको बहालवाला सरकारको पर्यटन मन्त्री रविन्द्र अधिकारीको यो बर्ष हेलिकप्टर दुर्घटनामा निधन भयो । गएको फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा बहालवाला मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको ज्यान गयो । तेह्रथुमको आठराईमा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनामा पर्यो। उक्त दुर्घटनामा मन्त्री अधिकारी सहित देशका प्रतिष्ठित व्यापारी आङछिरिङ शेर्पाको पनि निधन भयो।

पछिल्ला तीनवटा निर्वाचनमा कास्कीबाट प्रत्यक्ष निर्वाचित अधिकारी नेकपाको नयाँ पुस्ताका उदीयमान नेता थिए । सोही हेलिकप्टरमा नागरिक उड्यन क्षेत्रका वरिष्ठ अधिकारी र नेपालको राजनीतिक नृतृत्वसँग सम्बन्ध बनाएका व्यवसायी शेर्पाको निधन भयो । यति एयरलाइन्स, हिमालय एयरलाइन्स, गोकर्ण रिर्सोट लगायत व्यापारिक प्रतिष्ठानका प्रमुख शेर्पा नेपालको पर्यटन क्षेत्रका टाइकुन मानिन्थे।

उक्त दुर्घटनामा अधिकारी र शेर्पाका अलावा प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भयो।

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको असार ४ गते निधन भयो । पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका देवकोटाले नेपालमा जटिल खालका अप्रेसन गरेका थिए ।
प्रकाशन मिति–२०७५ साल चैत्र ३० गते शनिवार ।