Old Vehical in Ktmकाठमाडौ। २० वर्ष पुराना कालो नम्बर प्लेटका सार्वजनिक सवारीलाई आज बुधवारवाट काठमाडौका सडकमा चल्न निषेध गरिएको छ। अब २० वर्ष पुराना भाडाका सार्वजनिक सवारी सडकमा आए सवारी धनिलाई कारवाहीसहित जरिवाना गरिने यातायात व्यवस्था विभागले जनाएको छ।

विभागका अनुसार २० वर्ष कटिसकेका सार्वजनिक सवारीलाई कवाडीमा अव बिक्री गर्नुपर्नेछ। र, अटेर गरेर गुडे ठूलो जरिवानासहित कारवाहीको भागिदार हुनुपर्ने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भनेका छन्। विभागले मंगलबार ट्राफिक प्रहरी निर्देशनालयलाई पत्र लेख्दै २० वर्ष पुराना सवारी सडमा आए कारवाही गर्न पत्र लेखिसकेको छ।

अब २० वर्ष आयु नाघेका सार्वजनिक सवारीको करसमेत नबुझिने भएको छ। प्रवक्ता पाण्डेकाअनुसार त्यस्ता सार्वजनिक सवारीको अब प्राविधिक परीक्षण पनि गरिने छैन । यस्ता सवारीको नामसारी र अञ्चलीकरण पनि रोकिएको छ भने र विक्री वितरणमा पनि प्रतिवन्ध लगाइएको छ। रुट इजाजत नभइ सवारीले सडकमा गुड्नै पाउँदैनन्। त्यसपछि व्यवसायीलाई यस्ता सवारी नहटाई सुखै हुनेछैन ।

यदि यस्ता सवारी सडकमा गुडे ट्राफिक प्रहरी र विभागले कानुनअनुसार नियन्त्रणमा लिनेछ । र, स्क्रयााप गरिनेछ । कवाडी गर्दा लागेको शुल्क पनि गाडी धनिबाटै उठाइने भएको छ । २० वर्षे सार्वजनिक सवारी देशभरबाटै विस्थापन गर्ने निर्णय नयाँ भने होइन । सरकारले दुई वर्षअघि नै यो निर्णय गरेको थियो । मन्त्रिपरिषदको यो निर्णय २०७१ फागुन १८ गते राजपत्रमा प्रकाशित भएको थियो । निर्णयमा २ वर्षभत्र २० वर्ष आयु पुगेका सबै सार्वजनिक सवारीलाई विस्थापन गरिसक्ने उल्लेख छ।

उपत्यका झण्डै गुड्ने ३ हजार १ सय सार्वजनिक सवारी २० वर्ष नाघेको हुनसक्ने विभागको अनुमान छ । त्यसमा २ हजार ४ सय ट्याम्पो, बस, ट्रक तथा माइक्रो र ८ सय ट्याक्सी छन् । विभागले अहिले नयाँ गाडी दर्ता गर्दा नै २० वर्षको आयु तोक्ने गर्छ । पुराना गाडीहरुको इन्जन र पार्टपूर्जा काम नलाग्ने हुने भएकाले यात्रु बोक्नु निकै जोखिपूर्ण मानिन्छ।

विभागले तत्काल निजी, पर्यटकबाहक र सरकारी सवारीलाई २० वर्ष पुगकै आधारमा नहटाइने स्पष्ट गरेको छ । अहिले २० वर्ष नाघेका कालो नम्बर प्लेटका सार्वजनिक सवारी मात्रै हटाउन लागिएको जानकारी विभागले दिएको छ ।
प्रकाशन मिति–२०७३ साल फागुन १८ गते बुधवार ।