काठमाडौं । नेपालका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल र नेपाल टेलिकमको टावरमा आगजनी गरी क्षति पुर्‍याएको छ। यसरी क्षति पुर्‍याउने नेत्रविक्रम चन्द विप्लब समूह भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्र्रधान कार्यालयका अनुसार, २२ वटा एनसेल टावर र एउटा नेपाल टेलिकमको टावरमा विप्लव समूहले आगजनी गरेको हो।

बुधबार साँझदेखि विहीवार बिहान ११ बजेसम्मको विवरणअनुसार धेरै स्थानमा जुटको बोरामा आगो सल्काएर आगजनी गरेको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले विप्लब समूहले नै आगजनी र तोडफोड गराएको जानकारी दिँदै अर्घाखाँचीको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको बताए।

प्रहरीले दिएको जानकारीअनुसार कपिलवस्तु, कैलाली, झापा, डडेलधुरा, डोटी, धादिङ, पूर्वी नवलपरासी, पर्वत, पाँचथर, बाँके, बाग्लुङ, मोरङ, म्याग्दी, रुपन्देही, ललितपुर, सिन्धुपाल्चोक, अछाम, सल्यान र मकवानपुर जिल्लाका विभिन्न स्थानमा रहेको एनसेलको २२ वटा टावरमा आक्रमण भएको हो। यस्तै अर्घाखाँचीको पाँणेनी नगरपालिका– ५ स्थित नेपाल टेलिकमको टावरमा समेत आगजनी गरिएको प्रहरीले जनाएको छ।

गएराति ललितपुरमा भने प्रेसरकुकरमा तार जोडेको अवस्थामा बम फेला परेकाले लगनखेलबाट गएको सेनाको टोलीले निस्क्रिय(डिस्पोज)गरेको प्रहरीले जानकारी दिएको छ। बुधबार विप्लब समूहले मुलुकका विभिन्न २१ जिल्ला बन्दको आह्वान गरेको थियो ।
प्रकाशन मिति–२०७६ साल साउन १६ गते विहीवार ।