Bhagwan Budha 1काठमाडौ। वैशाख शुक्ल पूर्णिमाका दिन आज बुधबार २५६१ औँ बुद्ध जयन्ती परेको छ। आजको दिन नेपाल लगायत विश्वभर भगवान् बुद्धप्रति आस्था प्रकट गरेर भगवान बुद्धको शान्तिको सन्देश फैलाउने कार्य भैरहेको छ।

शान्तिनायक भगवान गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो। राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मेका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए।

Lumbini

छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा गौतम बुद्धले विश्व प्रसिद्धि प्रांप्त गरेका हुन्।

३६ वर्षको उमेरमा सारनाथमा गौतम बुद्धले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन गरेको बौद्ध दर्शनको खोज–अनुसन्धानमा लागेका बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताएका छन्।यसलाई बुद्धले दिएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ।

Bhagwan Budha 2

आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् । यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन्।

मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ । हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।

swayambhu

काठमाडौँको बौद्ध, स्वयम्भू, चावहिलस्थित चारुमति विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तुप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा भक्तजनहरुको भीड लागेको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख २७ गते बुधवार ।