काठमाडौं। २६ औं विश्व आदिवासी दिवस नेपालमा पनि मनाइएको छ। आदिवासी नेपालीहरुले विभिन्न जातिय भेषभूषामा सजिएर आदिवासीको हक, हित र अधिकारका विषयमा खुलेर प्रदर्शन गरेका छन्।

विश्व आदिवासी दिवस प्रत्येक वर्षको अगष्ट ९ तारिखमा मनाइन्छ। संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो।

आदिवासी भन्नाले कुनै स्थानमा आदिमकालदेखि बस्दै आएको र आफ्नो मातृभाषा,परम्परा, रितिरिवाज, छुट्टै सांस्कृतिक पहिचान,अलग सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको समुदाय वा जाति भन्ने बुझिन्छ। नेपालमा सरकारले ५९ जातजातिलाई आदिवासी जनजातिको रुपमा सूचिकृत गरेको छ।

नेपालको जनसंख्याको ३५.४ प्रतिशत हिस्सा ओगटेको आदिवासीको जनसंख्या ९३,६८,१७८ रहेको छ। बिसं. २०६८ को जनगणना अनुसार कुसुण्डा जातिको जनसंख्या सबैभन्दा कम २७३ जना रहेको छ भने सबैभन्दा बढी थारु समुदायको १७,३७,४७० रहेको छ।

मानव सभ्यताको विकाससंगै अनि क्रमिक बसाई–सराइको क्रम शुरु भएपछि क्रमशः आप्रवासीहरुको घनत्व बढ्न गई आदिवासीहरुको पहिचान र अस्तित्व कायम राख्न यो दिवस मनाउन थालिएको हो। विश्वको कूल जनसंख्याको ५ प्रतिशत आदिवासीहरुको रहेको छ।


प्रकाशन मिति–२०७६ साल साउन २४ गते शुक्रवार ।