काठमाडौँ । नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवस सप्ताहव्यापी कार्यक्रम सहित संपन्न गरेको छ। मंसीर २९ गते महानगर स्थापना दिवसका दिन सप्ताहव्यापी कार्यक्रमसहित महानगर दिवस संपन्न गरेको हो।

मूल समारोहमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले, डिजिटल सिग्नेचरसहितको इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम (ईवीपीयस) प्रणाली, ई—शिफारिस, येँ देँ केएमसी हेरिटेज वक (सम्पदाको पद मार्ग र यात्राका विषयमा जानकारी दिने) मोवाइल एप्लिकेसन सार्वजनिक गरेका थिए । कार्यक्रममा २८ औँ महानगर दिवस विशेष प्रकाशन, इन्द्रजात्रा सम्बन्धी नेपालका भाषाका पुस्तिकाहरु लोकार्पण गरिएको थियो । त्यस क्रममा चितवन देवघाटको जानकी अनाथ बालिका आश्रमका बालिकाहरुले स्वस्ति वाचन गर्नुभएको थियो । कार्यक्रममा नेपा डान्स एकेडेमीले स्वागत र कुमारी नृत्य प्रस्तुत गरेको थियो ।

मूल समारोहमा २७ जना कर्मचारी, १३ जना जनप्रतिनिधि, ५ जना पत्रकार, १ जना कलाकार र १ जनालाई जोखिमपूर्ण पुरस्कारसहित ४७ जनालाई सम्मान प्रदान गरियो। बुधवार परम्परागत बाजा गुरु, विद्यालय स्तरमा भएका प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिसकिएको छ ।

५० हजार राशीको जोखिमपूर्ण सेवा पुरस्कार सशस्त्र प्रहरी हवल्दार वीरेन्द्रबहादुर साउदलाई प्रदान गरियो । महावौद्धको आगलागीमा घाइते भएका साउदले हातको औँला गुमाएका छन् । यसै गरी नेपाल सम्बतका प्रवर्तक शंखधर साख्वा सम्बन्धी अध्ययन गरेर मुखाकृतिसहितको मूर्ति बनाउने कलाकारलाई वत्सगोपाल बैद्यलाई नगद १ लाख रुपैयाँसहित सम्मान प्रदान गरियो ।

सम्मानतर्फ महानगर सेवा गौरवबाट ७ जना जनप्रतिनिधि र ५ जना कर्मचारीलाई प्रदान गरिएको छ। जनप्रतिनिधिहरुमा वडा १० का अध्यक्ष रामकुमार के. सी., वडा १३ का अध्यक्ष ध्रुवनारायण मानन्धर, १६ का अध्यक्ष मुकुन्द रिजाल, १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन, वडा २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्य र वडा ६ का वडा सदस्य नरेन्द्र थापाले प्राप्त गरेका थिए । जनप्रतिनिधिहरुलाई पदकसहित १ लाख रुपैयाँ नगदसहित सम्मानित गरिएको हो ।

कर्मचारीतर्फ निर्देशक वुद्धरत्न मानन्धर, नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, वरिष्ठ उद्यान सहायक इन्द्रलाल रेग्मी, कार्यालय सहयोगी (नाइके) देवी नेपाली, हलुका सवारी चालक सुरेन्द्र पोडे छन् । उनीहरुलाई पदक र प्रमाण पत्र दिइएको हो ।

उत्कृष्ट महानगर सेवा पुरस्कारतर्फ निर्देशक देवेन्द्र पोखरेल, सहायक निर्देशक सन्तु श्रेष्ठ, अधिकृत छैटौँ इन्द्रप्रसाद खनाल, नायव सुब्बा टंकबहादुर थापासहित १० जना सम्मानित बने। यस्तै नगर प्रहरी हवल्दार प्रयास घिमिरे, मेकानिकल हेल्पर कुलबहादुर धलान, कार्यालय सहयोगी बलराम उपाध्याय, कुचीकार बाबुचा पोडे, हलुका सवारी चालक जयकृष्ण सुवेदी, कुचिकार जमुना पोडेनी छन् । यो पुरस्कार नगद ५० हजार रुपैयाँ राशीसहितको हो ।

२५ हजार रुपैयाँसहितको महानगर सेवा पुरस्कार १० जनालाई प्रदान गरियो । यो पुरस्कार पाउनेमा सहायक निर्देशक सोम राना, सहायक निर्देशक शारदादेवी सोती, सहायक निर्देशक जनस्वास्थ्य मञ्जु मास्के, सहायक निर्देशक छैटौँ विष्णुबहादुर पौडेल, कार्पेन्टर अधिकृत छैटौँ सुरेन्द्र शाक्य, कार्यालय सहयोगी गोमादेवी बजगाइँ, नगर प्रहरी हवल्दार मञ्जु के. सी., कार्यालय सहयोगी पुरुषोत्तम महर्जन, हलुका सवारी चालक फुर्वा शेर्पा छन् ।

स्व. जनकमान श्रेष्ठ स्वशासन पुरस्कारमा जनप्रतिनिधितर्फ वडा २३ का अध्यक्ष मचाराजा महर्जन र वडा ११ की सदस्य यशोमती परियारलाई प्रदान गरियो । कर्मचारीतर्फ उपनिर्देशक कुमारी राई र सहायक निर्देशक सुरेशकुमार दाहाललाई प्रदान गरियो । महानगरका जननिर्वाचित पहिलो सभापति स्व. जनकमान श्रेष्ठका नाममा यो पुरस्कार स्थापना गरिएको हो ।

१ लाख रुपैयाँ नगदसहितको साधना देवी अग्रणी महिला पुरस्कारबाट वडा ९ की सदस्य श्रृजना भेटवाल, वडा १७ की सदस्य कविता दास दर्नाल, वडा १९ की सदस्य रेणुकमल शाही भारती, कार्यपालिका सदस्य कञ्चना नेपाली हरिजनलाई प्रदान गरिएको छ ।

स्वशासन पत्रकारिता पुरस्कारबाट आर्थिक दैनिकका सम्पादक प्रह्लाद रिजाल, कान्तिपुर हटलाइनका सम्पादक श्रृजन झा, गोरखापत्रका समाचारदाता भउचप्रसाद यादव, ईकान्तिपुरकी रीना मोक्तान र मेरो साप्ताहिकका रत्नकाजी महर्जनलाई प्रदान गरिएको छ ।

कार्यक्रममा उत्कृष्ट करदातामा व्यवसाय करतर्फ मेगा बैङ्क लिमिटेड, एकीकृत सम्पत्ति करतर्फ वडा नं. २८ की भावना सिंह श्रेष्ठ, बहाल करतर्फ नारायण प्रसाद वस्ताकोटी, मनोरन्जन करतर्फ, सेन्ट्रल सिनेमा, सिभिल मल र अनलाइन प्रणालीबाट सबैभन्दा बढी बहाल कर तिर्ने वडा नं. २६ का पवन कुमार श्रेष्ठ लाई घोषित गरिएको छ । मखं कुमारी मतिना डंगोललाई मासिक १५ हजारका दरले ५ महिनाको ७५ हजार रुपैयाँ प्रदान गरियो ।

काठमाडौंको बसन्तपुरमा आयोजना गरिएको विशेष समारोह स्थलमा उद्यमी मेला प्रदर्शनी, तस्विर प्रदर्शनी, चित्रकला प्रदर्शनी, मौलिक खाना मेला सञ्चालन गरिएको थियो।

प्रकाशन मिति–२०७९ साल मंसीर २९ गते विहीवार ।