Prime Minister officeकाठमाडौ। नेपाल मेडिकल काउन्सिलको परीक्षवाट बन्चित बनेका ३० जना नेपाली विद्यार्थीहरुलाई फेरि चीनमा अध्ययन गर्न पठाइने भएको छ। विहीवारको मन्त्रीपरिषदको बैठकले सरकारी छात्रबृतिमा चीनमा मेडिकल अध्ययन गरेर पनि कोर्श पूरा नभएको भन्दै मेडिकल काउन्सिलले परीक्षामा सामेल नगराएपछि ती विद्यार्थीहरुको माग बमोजिम मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो।

त्यसरी फेरि चीन गएर अध्ययन पूरा गर्न जाने ती विद्यार्थी प्रत्येकलाई सरकारले जनही सात लाख अनुदान दिइने निर्णय पनि बैठकले गरेको छ। मन्त्रिपरिषद्ले मेडिकल काउन्सिल सम्बन्धि ऐन, नियम, निर्देशिका परिमार्जन सम्बन्धि सुझाव दिन शिक्षामन्त्रीको संयोजकत्वमा स्वास्थ्य र कानूनमन्त्री रहने गरी समिति गठन गरेको छ ।

बैठकले काठमाडौंमा मेट्रो केबल कार र जियो थर्मल सम्बन्धि संम्भाव्यता अध्ययन गरी काम अघि बढाउन लगानी बोर्डलाई जिम्मेवारी दिएको छ । त्यस्तै डिल्लीरमण रेग्मी अन्तराष्ट्रिय पुरस्कार रुम टु रिडका जोन उडलाई दिने निर्णय गरेको छ । उडले नेपालमा चारसयवटा भन्दा बढी पुस्तकालय निर्मा ण गरेका छन् ।

त्यस्तै डिल्लीरमण रेग्मी शान्ति पुरस्कार प्राध्यापक डा तुलसीराम बैद्यलाई दिने निर्णय गरेको छ । यसैगरी समाजकल्याण परिषदो उपाध्यक्षमा नीलमणी बराल, कोषाध्यक्षमा वीरबहादुर ठगुन्ना, सदस्य-सचिवमा डिल्लीप्रसाद भट्ट र सदस्यमा इन्द्रकुमार झालाई नियुक्त गरेको छ ।

विश्वविद्यालयको अनुदान आयोगको सदस्यमा उपकुलपतीहरुको तर्फबाट उपेन्द्र कोइराला र इश्वप्रसाद ढकाललाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवसको अवसरमा ८ सय ८७ कैदीको सजाय माफी मिनाहाका लागि राष्ट्रपतिलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
प्रकाशन मिति–२०७३ साल जेठ १३ गते विहीवार ।