काठमाडौ। ३३ किलो सुन तस्करीमा बाजेको सेकुवा पनि तानिएको छ। बाजेको सेकुवाका मालिक चेतन भण्डारी ३३ किलो सुन तस्करीको अर्को मतियार भएको खुलेको अनुसन्धानका आधारमा काठमाडौका विभिन्न स्थानमा संचालित बाजेको सेकुवामा छापा मारेर प्रहरीले सिलबन्दी गरेको छ।

बाजेको सेकुवा अनामनगरमा आज बुधवार अपरान्ह ४ः३० बजेतिर छापा मारेर सिलबन्दी गरिएको छ। त्यसैगरेर, स्रोहखुट्टे, सामाखुसी, बत्तिसपुतली, कमलपोखरी र गैरीधारास्थित बाजेको सेकुवामा पनि छापा मारेर सिलबन्दी गरिएको छ।

बाजेको सेकुवा रेस्टुराँकाका मालिक चेतन भण्डारी फरार रहेका छन् । उनलाई फरार प्रतिवादी बनाएर सुन तस्करीमा जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको छ। प्रहरीकाअनुसार बाजेको सेकुवा नामबाट हाल १० ओटा रेस्टुराँ सन्चालनमा रहेका छन्। त्यसमध्ये पाँचओटा भण्डारी र एउटा उनको साला सन्चालक रहेको जनाइएको छ।

ती ६ ओटैमा छापा मारेर सिलबन्दी गरिएको समितिले जनाएको छ। सुन तस्करीमा संलग्न भएको आरोपमा भण्डारीको सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का गरिएको छ। अनुसन्धान समितिले यसअघि सुनका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवालको डिल्लीबजारस्थित घर र अर्का प्रतिवादी राजेन्द्र शाक्यको काठमाडौंस्थित आरके ज्वेलर्सका तीनओटा शाखामा छापा मारेको थियो।

अग्रवालको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुई किलो चाँदी र १० तोला सुन बरामद गरेको थियो। त्यस्तै, बा१०च २८२ नम्बरको गाडीसहित सुन राख्ने खाली डिब्बा, सुन बोक्ने ज्याकेट र अरु केही महत्वपूर्ण कागजातहरु बरामद गरिएको थियो। शाक्यको ज्वेलर्सबाट २८ करोड रूपैयाँ बराबरको सुन, चाँदीलगायतका गरगहना बरामद गरिएको थियो।


प्रकाशन मिति–२०७५ साल जेठ ३० गते बुधवार ।