काठमाडौ। नेपालमा ३७ औं शिक्षा दिवसको अवसरमा उत्कृष्ट नतिजा लाउन सफल सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सम्मान गरिएको छ। शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षा मन्त्रालयमा विहीवार आयोजित कार्यक्रममा सम्मान प्रदान गरेका छन्। जसमा नेपालका २५ वटा उत्कृष्ट विद्यालयहरुलाई सम्मान गरिएको छ।

सामुदायिक विद्यालयतर्फ कास्कीको शीतला देवी सामुदायिक विद्यालयलाई उत्कृष्ट विद्यालयको सम्मान प्रदान गरियो भने निजी विद्यालयबाट ललितपुरको जेम्स स्कुललाई पुरस्कृत गरियो। यी दुबै विद्यालयले दुई–दुई लाख रुपैयाँ प्राप्त गरेका छन्। पाँचै विकास क्षेत्रबाट सामुदायिक र निजीतर्फ एक–एकओटा विद्यालयलाई एक–एक लाख रुपैयाँको पुरस्कार प्रदान गरिएको छ। जसमा पूर्वाञ्चलबाट सामुदायिकतर्फ ओखलढुंगाको बरुणेश्वर माध्यामिक विद्यालय र निजीतर्फ विराटनगरको बालकल्याण विद्यामन्दिरलाई पुरस्कृत गरियो।

shikchha-purshkarमध्यमाञ्चलबाट सामुदायिततर्फ चितवनको नारायणी नमूना माध्यामिक विद्यालय र निजीतर्फ ललितपुरको लिटिल एञ्जल्स विद्यालय पुरस्कृत भए। पश्चिमाञ्चलबाट सामुदायिकतर्फ बाग्लुङको गणेश माध्यामिक विद्यालय र निजीतर्फ पोखराको मदरल्यान्ड माध्यामिक विद्यालयले पुरस्कार पाएका छन्।मध्यपश्चिमाञ्चबाट सामुदायिकतर्फ मुगुको गुरु माध्यामिक विद्यालय र निजीतर्फ दाङको तुलसी आवासीय माध्यामिक विद्यालयलाई पुरस्कृत गरियो। 

सुदूरपश्चिमबाट सामुदायिकमा डोटीको भगवती माध्यामिक विद्यालय र निजीतर्फ कन्चनपुरको इन्टरन्यासनल पब्लिक स्कुल पुरस्कृत भएका छन्। दुर्गम जिल्लाहरुका विद्यालय मध्येबाट सोलुखुम्बुको खुम्जुङ माध्यामिक विद्यालयलाई नगद एक लाखसहित सम्मान गरियो। प्राविधिक शिक्षातर्फ रुपन्देहीको कालिका उच्च माध्यामिक विद्यालयलाई पुरस्कृत गरिएको छ।

उत्कृष्ट क्याम्पसतर्फ इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस, पोखराको जनप्रिय बहुमुखी क्याम्पस र काठमाडौंको कलेज अफ बायोमेडिकल इन्जिनियरिङलाई जनही दुई लाख ५० हजार रुपैयाँबाट सम्मान गरियो। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमतर्फ देशभरिबाट ७ कलेजलाई सम्मान गरियो।
प्रकाशन मिति–२०७३ साल भदौ २३ गते विहीवार ।