काठमाडौं। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका केही सीटमा रिक्त जनप्रतिनिधि चयनका लागि आज शनिवार उपनिर्वाचन भैरहेको छ। निर्वाचनमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन हुने क्षेत्रमा विहानदेखि मतदाताहरुको उत्साहजनक उपस्थिति भएको पनि आयोगले भनेको छ।


३७ जिल्लाका ५२ रिक्त पदका लागि हुने निर्वाचनका लागि २ सय ४७ मतदानस्थल तथा ५ सय ३७ मतदान केन्द्रको व्यवस्था गरिएको छ। आयोगका अनुसार उपनिर्वाचनका लागि पाँच हजार ५ सय ३२ कर्मचारी खटाइएको छ। निर्वाचनका लागि गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको सहभागितामा सुरक्षाकर्मी परिचालन भएका छन्।

 

गत साउन १६ गते १८ वर्ष पूरा भइ फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले यस निर्वाचनमा मतदान गर्न पाउने छन्। मतदान लागि मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । निर्वाचनका लागि अनुगमनकर्ता, अधिकारकर्मी र सञ्चारकर्मीलाई पासको व्यवस्था गरिएको छ।

मतदान हुने क्षेत्रमा मदिरा बिक्री वितरण र सेवन निषेध गरिएको छ भने मतदान केन्द्र तोकिएका विद्यालयको पठनपाठन तीन दिनका लागि बन्द गरिएको छ। निर्वाचन हुने र भारतसँग सीमा जोडिएका कतिपय नाका निर्वाचनका अवधिमा बन्द रहने भएको छ।
प्रकाशन मिति–२०७६ साल मंसीर १४ गते शनिवार ।