काठमाडौं। नेपाल चलचित्र कलाकार संघ स्थापनाको ३२ बर्ष र कान्ति साँस्कृतिक केन्द्र स्थापनाको ५० बर्षको उपलक्ष्यमा दुवै संस्थाको संयुक्त आयोजनामा चलचित्र कलाकार, मोडल, र गायक गायिका बीच ३ किलोमिटर सेलिब्रेटी सडक दौड प्रतियोगिता सम्पन्न भएको छ।

काठमाडौंको महाराजगञ्जस्थित कान्ति चौरवाट लाजिम्पाट स्थित र्याडिसन चोकसम्म आतेजाते गरेर ३ किलोमिटरको सेलिब्रटी सडक दौड प्रतियोगिता शनिवार विहान भएको हो।

सेलिब्रेटी दौड प्रतियोगितामा पुरुषमा गायक सुरज पण्डित र महिलामा गायिका बिनिता स्याङ्तान बिजेता बन्न सफल भएका छन्। त्यसैगरी महिला तर्फ नायिका पवित्रा आचार्य फर्स्ट रनरअप र मोडल अस्मिता जुरेली सेकेन्ड रनरअप बनेका थिए भने पुरुष तर्फ फर्स्ट रनरअप धनु ज्ञान्मी र सेकेण्ड रनरअप एस राज राजकुमार श्रेष्ठ भएका छन्।प्रतियोगिताका बिजेताहरुलाई नगद रु ५० हजार, ३२ हजार र २० हजार सहित ट्रफी र मेडल प्रदान गरिएको थियो।

नेपाल चलचित्र कलाकार संघका कार्यवहाक अध्यक्ष सानु ताम्राकारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पूर्वगृह मन्त्री जनार्दन शर्मा, बिशेष अतिथिहरुमा कमेडी किङ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिहर शर्मा, शंभुजीत बाँस्कोटा, मदनदास श्रेष्ठ, लक्ष्मी गिरी लगायत थिए। कार्यक्रमलाइ रिभेल इभेन्ट्सले ब्यबस्थापन गरेको थियो भने, कलाकार गोपाल ढकाल छन्दे, राजेश महर्जन, गायक राजेश हमाल र कलाकार रामेश्वर बुर्लाकोटीले संयोजन गरेका थिए।

प्रकाशन मिति–२०७६ साल कात्तिक ३० गते शनिवार ।