काठमाडौं। पत्रकारहरुको हक, हित र अधिकारको लागि आफू सधैं सचेत रहेको ३ नंबर प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यको भनाई रहेको छ। सांसद शाक्यले नेवाः पत्रकार राष्ट्रिय दबूको काठमाडौं जिल्ला शाखाको पाँचौ बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनका क्रममा शनिवार सांसद शाक्यले उक्त भनाई राखेका हुन्।

नेवाः पत्रकार राष्ट्रिय दबूको हालसम्म कार्यालय प्रयोजनका लागि भवन नभएको अवस्थामा सांसद शाक्यले कुनै सार्वजनिक जग्गा भेटिएमा त्यसमा कार्यालय प्रयोजनको लागि भवन निर्माण गर्न प्रदेश सरकारवाट सहयोग उपलव्ध गराउन आफूले पहल तथा प्रयत्न गर्ने बताएका छन्। कार्यालय भवन भएपछि नेवाः पत्रकारहरुको स्थायित्व तथा स्तरोन्नति हुने कुरामा आफू सजग भएको पनि जिकिर सांसद शाक्यले गरेका छन्।

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाको नयाँ नेतृत्व अरबिन्द मान सिंहको अध्यक्षतामा निर्विरोध गठन भएको छ। जसमा उपाध्यक्ष प्रवीण महर्जन प्रजापति, सचिव रत्नकाजी महर्जन, सह–सचिव शरणहरि डंगोल र बिनिता खड्गी, कोषाध्यक्ष राजेन्द्र मानन्धर ‘नीलः’ तथा सदस्यहरुमा शैलेश कुमार डंगोल, राजेन्द्र मानन्धर, रेखा शाक्य, रोजिता बुद्धाचार्य, मनोजरत्न शाही, बिजय कुमार सिंह, सहयोग रञ्जित, किचः सिंह ज्यापु र विमला मानन्धर रहेका छन्।

त्यसैगरेर, दानदास श्रेष्ठ, राजीव शर्मा राजोपाध्याय, हरिकृष्ण महर्जन, बीरेन्द्र शाक्य(बिबिशा), राजु नापित, अनुप प्रधान, जुजुमान महर्जन लगायत १७ जना निर्विरोध निर्वाचित बनेका थिए। कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रदेशसभा सदस्य जीवन डंगोल, बरिष्ठ फोटो पत्रकार गोपाल चित्रकार लगायतको विशेष आतिथ्यता रहेको थियो।

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाका पूर्वअध्यक्ष तथा ख्यातिप्राप्त फोटो पत्रकार नातिकाजी महर्जनको सम्मान गरिएको थियो। पूर्वअध्यक्ष सम्मानित नातिकाजी महर्जनले फोटोपत्रकारिता पुरस्कार तथा सम्मानको लागि नगद १ लाख रकमको कोष खडा गर्न कोषका संयोजक दानदास श्रेष्ठलाई नगद हस्तान्तरण समेत गरिएको थियो।
प्रकाशन मिति–२०७६ साल भदौ ८ गते आइतवार ।