काठमाडौं। ३ नंवर प्रदेशको संसदीय समितिले प्रदेश मातहत सञ्चालित विकासका आयोजनामा भएको प्रगति विवरण संकलनका लागि टोली खटाएको छ। प्रदेशसभाको अर्थ तथा विकास समितिअन्तर्गतको योजना अनुगमन उपसमितिको टोली अनुगमनमा निस्किएको हो।

उपसमितिका संयोजक नारायण सिलवाल नेतृत्वको टोलीले सोमबार धादिङ जिल्लामा निर्माणाधीन चार योजनाको अनुगमन गरेको छ। टोलीले धादिङबेसीस्थित २ करोड ५७ लाख रुपैयाँ लागतमा निर्माणाधीन धोपलखोला पुल, २८ करोड लागतमा धादिङबेसी–सङ्कोस–पिप्लिङ सडक (चाइना जोड्ने सडक जुन हालैमात्र प्रदेश मातहत आएको थियो) र ६० लाखको लागतमा बन्दै गरेको निलकण्डा–१३ को सडक योजनाको अनुगमन गरेको छ।

अनुगमनका क्रममा संसदीय टोलीले कुनै पनि बहानामा निर्माण कार्यलाई नअल्झाउन वा ढिला नगर्न निर्देशन दिएको छ। अनुगमन टोलीमा प्रदेश सांसदहरु डा.अजयक्रान्ति शाक्य, बिजुला बर्मा, शोभा शाक्य, आशामाया तामाङ र प्रदेशबाट खटिएका कर्मचारी पनि थिए। धादिङबाट भने जिल्ला समन्वय समितिकी उपप्रमुख बिन्दा बलामु, पूर्वाधार विकास कार्यालयका ईन्जिनियरहरु विजय बज्रचार्य, दीपकराज भट्ट र राजेन्द्र भण्डारी अनुगमनमा गएका थिए। मंगलबार र बुधबार नुवाकोट र रसुवा जिल्लामा निर्माणाधीन आयोजनाको अनुगमन गरिने टोलीले जनाएको छ।


प्रकाशन मिति–२०७६ साल जेठ २७ गते सोमवार ।